चितवन, २८ साउन। जुनसुकै विषयमा पनि प्लस टु, स्नातक, स्नातकोत्तर, विद्यावारिधीलगायतका विभिन्न तह पार गरेपछि सोहीअनुसारको रोजगारको लागि आवेदन दिन पाउँछ। तर, त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा अध्ययन गर्ने माइक्रोबायोलोजी विषयका विद्यार्थी भने योग्यता र क्षमताको आधारमा रोजगारबाट बञ्चित गराएको भन्दै सरकारको विरोधमा उत्रिएका छन्।
एउटै पाठ्यक्रम पढेर पूर्वाञ्चल, काठमाडौँ, पोखरालगायतका विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा पढ्ने विद्यार्थीको लागि मात्रै रोजगारको लागि ढोका खोलेको भन्दै त्रिविअन्तर्गतका विद्यार्थी विगत ९ वर्षदेखि आन्दोलनरत छन्। नेपाल सरकार नेपाल स्वास्थ्य प्राविधिक संघले त्रिविअन्तर्गतका क्याम्पसमा अध्ययन गरेका विद्यार्थीलाई मात्रै रोजगारको लागि अनुमतिपत्र नदिइकोले आन्दोलनमा होमिन बाध्य भएको विद्यार्थीहरूको भनाइ छ।

आन्दोलनका क्रममा विद्यार्थीले आफ्नो सर्टिफिकेट कहाँ बुझाउने भनेर प्रधानमन्त्रीलाई प्रश्न गरेका छन्। त्यतिमात्र नभई सरकारलाई कि त विषय हटाउनु पर्ने कि त अवसर दिनुपर्ने भन्दै दबाबसमेत दिएका छन्। सरकारले विश्वविद्यालयको आधारमा एउटै पाठ्यक्रम पढेका विद्यार्थीमाथि भेदभाव गरेको विद्यार्थी प्रदीपकुमार करले बताए। ‘पढिसकेकाले रोजगार पाउने अवस्था पनि रहेन र पढ्दै गरेका विद्यार्थीको भविष्य पनि अन्यौलमा परेको छ,’ उनले भने, ‘यसमा सरकारले नै हामीलाई पक्षपात गरेको छ।’
त्रिविले आफू मातहतका कलेजमा सन् १९९२ बाट माइक्रोबायोलोजीको पढाई सुरू गरेको थियो। तर, त्रिविअन्तर्गतका विद्यार्थीले अहिलेसम्म रोजगारको ढोकासम्म पुग्न नपाएको विद्यार्थी विष्णु पौडेलले बताए। देशभर त्रिविअन्तर्गत ३३ वटा क्याम्पसमा माइक्रोबायोलोजीको पढाई हुने गरे पनि अन्य विश्वविद्यालयबाट अध्ययन गरेकाहरूलाई मात्रै रोजगारको लागि अनुमतिपत्र दिने गरेको उनको भनाइ छ। सोही विषयमा मंगलबार देशभरका त्रिविअन्तर्गतका कलेजमा अध्ययन गर्ने विद्यार्थीले आन्दोलन गरेका छन्।

त्रिवि, विज्ञान तथा प्रविधि संस्थानबाट एम.एससी. मेडिकल माइक्रोबायोलोजी उत्तीर्ण गरेका विद्यार्थीहरूको नाम दर्ता प्रकृया पुनः सुचारू नगरेसम्म आन्दोलन जारी रहने उनी बताउँछन्। पढेर पनि रोजगार नपाइने भएपछि विषय नै हटाइदिन सरकारसमक्ष माग गरेका छन्। चितवनमा पनि त्रिविअन्तर्गत पढाई हुने बालकुमारी कलेज र वीरेन्द्र बहुमुखी क्याम्पसका विद्यार्थीले मंगलबार विरोध र्याली आयोजना गरेका थिए।
बालकुमारी कलेजबाट सुरू भएको विरोध र्याली वीरेन्द्र क्याम्पस, चौबीसकोठी हुँदै जिल्ला प्रहरी कार्यालय अगाडिको गेष्ट हाउस चौरमा पुगेर सकिएको थियो। र्यालीमा सहभागी विद्यार्थीले विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेका थिए।