काठमाडौँ, २७ साउन। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको रुपान्तरणमा युवालाई जोड्न सरकारले नयाँ कामको थालनी गरेको दाबी गरेका छन्। राजधानीमा आयोजित ‘नेपाल युवा उद्यमशीलता सम्मेलन–२०१९’को उद्घाटन गर्दै नेता नेपालले स्वदेशमै उद्यमशीलताको प्रशस्त सम्भावना रहेर पनि श्रमको सम्मान गर्ने मानसिकताको विकास हुन नसक्दा विदेशिएका युवाहरूलाई समेत स्वदेशमै रोजगारको अवस्था सिर्जना गर्न सरकार लागि परेको बताएका हुन्।
‘कृषि क्षेत्रमा उद्यमशीलता विकासको ठूलो सम्भावना छ,’ उनले भने, ‘विदेश पलायन हुने युवालाई स्वदेशमै काम गर्ने वातावरण निर्माण गर्न सबैको सहयोगको खाँचो छ।’ सोही कार्यक्रममा बोल्दै अर्थमन्त्री डा युवराज खतिवडाले युवा पलायन रोक्न तथा स्वदेशमै उद्यमशीलताको विकास गर्न सरकारले सहुलियत व्याजमा विभिन्न कर्जा उपलब्ध गराएको बताए। युवालाई उद्यमी बनाउन बीउ पूँजी अनुदान र व्यवसाय विस्तारका लागि सहुलियत व्याजमा कर्जा उपलब्ध गराउने प्रक्रिया सुरू गरिएको उनले बताए।
सरकार एक्लैको प्रयासबाट उद्यमशीलताको विकास हुन नसक्ने बताउँदै अर्थमन्त्री खतिवडाले भने, ‘निजी क्षेत्रको सहयोगको खाँचो छ। त्यसैले बाणिज्य बैंक सहुलियत कर्जा प्रवाहमा बाधक बन्नु हुँदैन।’ प्रदेश नं ३ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले युवा उद्यमशीलता विकास गर्न प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने ठोकुवा गरे।