काठमाडौँ, २७ साउन। राजधानीमा सोमबारदेखि ‘नेपाल युवा उद्यमशीलता सम्मेलन–२०१९’ सुरू भएको छ। मुलुकको आर्थिक तथा सामाजिक रुपान्तरणमा युवाको भूमिकालाई थप सशक्त बनाउने उद्देश्यले उक्त सम्मेलन आयोजना गरिएको हो। सम्मेलन प्रदेश नं ३ सरकार, राष्ट्रिय युवा परिषद् र विशाल मिडिया ग्रपले संयुक्तरुपमा आयोजना गरेको हो। सम्मेलनमा उद्यमशीलता प्रवर्द्वनका विविध आयामबारे बहस पैरवी हुनेछ।
मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको सन्दर्भमा नेपालमै उद्यमशीलताको सम्भावना उजागार गर्ने विषयमा समेत बहस हुने आयोजकले जनाएको छ। मंगलबारसम्म चल्ने उक्त सम्मेलनमा विभिन्न विषयवस्तुमा आधारित रहेर पाँच वटा सत्र सञ्चालन हुनेछन्। विकास र समृद्धिमा युवालाई जोड्ने नीति ल्याउन र उद्यमीलता विकास गर्न सरकारले शिक्षामा लगानी बढाउनुपर्ने आयोजकले जनाएको छ।
‘अबका युवा गफ र नारामा विश्वास गर्दैनन्,’ आयोजक संस्थामध्ये विशाल फाउण्डेशनका संयोजक विशाल गैरेले भने, ‘साँच्चै युवा र मुलुकको समृद्धि देखिने गरी कार्यक्रम सञ्चालन गरिनुपर्छ।’ सम्मेलनमा सातै प्रदेशबाट २०० भन्दा बढी युवा उद्यमीको सहभागिता रहेको छ।