चितवन, २३ साउन। नारायणगढको पोखरा बसपार्कस्थित होटल कंगारुमा झुण्डिएको अवस्थामा मृत भेटिएका पत्रकार शालिकराम पुडासैनीको विषयमा चितवन प्रहरी नै झस्किएको छ। राजधानीस्थित माउन्टेन टेलिभिजनमा कार्यरत पत्रकार भनेपछि यस घटनाको अनुसन्धानप्रति चितवन प्रहरी सुरूदेखि नै सर्तक थियो। यतिसम्म कि प्रहरीले सरकारी वकिल र शव परीक्षण गर्ने डाक्टर नै घटनास्थलमा लगेको थियो। अनुसन्धानको हरेक चरणमा मृतकको आफन्तलाई साक्षी राखेर काम भयो।
अन्य घटनामा प्रहरीले घटनास्थल पुगी लास मुचुल्का उठाई तत्काल शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याउँछ। तर यस घटनाले फरक मोड लिने हो कि भनेर संयमित भएको पाइन्छ। साधारणतया शव परीक्षण गर्नुपर्ने घटना सबैजसो भरतपुर अस्पतालमा हुने गरेकोमा मृतक पुडासैनीको हकमा भने काठमाडौँको टिचिड अस्पताल लगिएको छ।
प्रहरीले चुनौतीका बीच काम गर्ने र जस्तोसुकै चुनौती सामना गर्न पनि तयार हुने भएकाले पत्रकार वा अन्य सामान्य मानिस भनेर कुनै फरक नगरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक (एसपी) दानबहादुर मल्लले बताए। मृतक युवा केही समयअघि रवि लामिछानेबाट सञ्चालन हुँदै आएको सीधा कुरा जनतासँग कार्यक्रममा सँगै कार्यरत रहेको र हाल माउण्टेन टिभीको खोजमूलक कार्यक्रम ‘मिसन न्यूज’मा कार्यरत भएकाले पनि भविष्यमा आउनसक्ने धेरै प्रश्नहरुको सामनाबाट जोगिनका लागि प्रहरीले चलाखी अपनाएको पाइन्छ। पुडासैनी यही साउन २० गते राति उक्त होटलको एउटा कोठामा झण्डिएको अवस्थामा मृत भेटिएका थिए।
छुटे होटल सञ्चालक
घटना भएको होटल कंगारुका संचालक यज्ञबहादुर कार्की २१ गते राती छुटेका छन्। मृतकका आफन्तले कार्कीविरूद्ध किटानी जाहेरी दिएपछि हिरासतमा पुगेका उनी राति १२ बजे नै छुटेका हुन्। जाहेरी फिर्ता लिएपछि कार्की छुटेको प्रहरीको भनाइ छ। अरु कोहीविरूद्ध जाहेरी परेको छैन। युवकद्वारा मोबाइलमा रेकड गरिएको भनिएको दुईवटा क्लिपका सम्बन्धमा सार्वजनिक समाचारप्रति कुनै सत्यता नभएको भनी प्रहरीले विज्ञप्ति नै जारी गरेको छ।
चितवन प्रहरी प्रमुख मल्लको हवाला दिँदै लेखिएको समाचारमा घटनाको अनुसन्धान नै प्रभावित पार्ने खालको विषय समेटिएको भन्दै प्रवक्ता डिएसपी एकनारायण कोइरालाले विज्ञप्ति निकालेका छन्। विभिन्न सञ्चारमाध्यममा मृतक पुडासैनीले अडियो क्पि, भिडियो क्लिप छाडेको भेटिएका समाचार बाहिर आएका थिए। मृतकका आफन्तले पनि भिडियो क्लिप फेला परेको दाबी गर्दै आएका छन्। उक्त भिडियो जिल्ला प्रहरी कार्यालय चितवनमा समेत छाडेको बताएपछि घटनाप्रति थप चासो बढ्दै गएको हो।