चितवन, १६ साउन। पुराना तथा लगाउन मिल्ने कपडा कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा चिन्तित हुनुहुन्छ ? यदि हुनुहुन्छ अब चिन्ता लिनु पर्दैन किनकि चितवनमा पनि कपडाको बैंक अर्थात् संकलन केन्द्र स्थापना गरिएको छ। स्थानीय युवाहरूको सक्रियतामा रत्ननगरमा ‘कपडा बैंक’ सुरू गरिएको हो। पुराना भएर पनि लगाउन मिल्ने तर आफूले लगाउन छाडेको कपडा निःशुल्क उपलब्ध गराउने उद्देश्यले ‘सामाजिक जागरण युवा संस्था’मार्फत युवाहरूले कपडाको बैंक सुरू गरेका हुन्।
नयाँ कपडा किनेर लगाउन समस्या भएका आर्थिक विपन्न परिवारको लागि कपडा बैंक सबैभन्दा उपयोगी हुने युवाहरूले बताएका छन्। ‘केही समय लगाएर लगाउन मन नलागेका कपडा छन् भने यहाँ ल्याएर राखिदिन सक्नुहुन्छ,’ संस्थाकी संयोजक रिजा जोशीले भनिन्, ‘तर, लगाउन मिल्ने खालका कपडा हुनुपर्छ।’ पुराना कपडा फाल्न पनि नमिल्ने र जोकसैलाई दिन पनि असहज हुने र भएकोले सार्वजनिक स्थानमा राखिदिए आवश्यक पर्नेले यहीँ आएर लैजना सक्ने हुँदा कपडा बैंक सुरू गरिएको उनको भनाइ छ।

बुधबारबाट सुरू भएको कपडा बैंक चितवनमा पहिलो अभ्यास हो। राजधानीमा केही दिनअघि सुरू भएपछि चितवनका युवाले पनि आफ्नै जिल्लामा नयाँ अभ्यास थालेका हुन्। कपडा बैंकबाट आवश्यक परेका जो–कसैले पनि आफूलाई मन परेको कपडा रोजेर लैजान पाउने व्यवस्था मिलाइएको कार्यक्रम संयोजक नेत्र गुरूङ बताउँछन्। ‘सक्नेले त आफैँ किनेर लगाइहाल्छन् तर नसक्नेहरूका लागि यो एउटा विकल्प हो,’ उनी भन्छन्, नेपालमै नौलो अभ्यास भएकोले कतिको सफल हुन्छ हेरौँ।’
यसलाई दिगोरूपमा सञ्चालन गर्ने योजनासहित स्थापना गरिएको उनको भनाइ छ। रत्ननगर १६ का गणेशमान श्रेष्ठ र लक्ष्मी कुमारी श्रेष्ठको स्मृतिमा नाति सुमन थापाको सहयोगमा कपडा बैंक स्थापना गरिएको हो।


























