चितवन, १५ साउन। जिल्ला प्रहरी कार्यालय चितवनले मंगलबार ११ जना जुवाडेलाई नियन्त्रणमा लिइएको छ। जुवाखालबाट नगद दुई लाख ९३ हजार ३५० रूपैयाँसमेत बरामद गरेको प्रहरीले जनाएको छ। लुकिछिपी जुवा खेलिरहेको विषेश सूचनाको आधारमा प्रदेश नं. ३ प्रहरी कार्यालय, हेटौँडाका प्रहरी निरीक्षक चरित्रबिक्रम कार्की र जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक वीरेन्द्रराज गुरूङको नेतृत्वमा खटिएको टोलीले जुवा खेल्दै गरेको अवस्थामा भरतपुर १५ दराई टोलबाट कौडा र नगदसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए।
पक्राउ पर्नेमा चितवन जिल्ला भरतपुर महानगरपालिका ३ बस्ने वर्ष ४६ का शैलेन्द्र श्रेष्ठ, भरतपुर २० बस्ने ३६ वर्षका राजु थापा, भरतपुर ३ बस्ने वर्ष ४३ का गोविन्द श्रेष्ठ, भरतपुर ४ बस्ने वर्ष ३० का रविकुमार गुप्ता, भरतपुर १० बस्ने वर्ष ४३ का पदम लामा, भरतपुर १८ बस्ने वर्ष ४० का शालिकराम रेग्मी, भरतपुर १५ बस्ने वर्ष ४० का वीरबहादुर लामा, राप्ती नगरपालिका ४ बस्ने वर्ष ६७ का कृष्णप्रसाद तिमिल्सिना, राप्ती ५ बस्ने वर्ष २५ का मन्दिप धरेल, रत्ननगर १३ बस्ने वर्ष ४० का कुमार गुरूङ र नवलपुर जिल्ला गैँडाकोट नगरपालिका वडा नं. १ बस्ने वर्ष ४८ का मनिलाल गौतम रहेको प्रहरीले जनाएको छ। उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रवक्ता कोइरालाले जानकारी दिए।

जवरजस्ती करणीमा संलग्न पक्राउ
जिल्ला प्रहरी कार्यालय चितवनले जबरजस्ती करणीमा संलग्न एकजनालाई पक्राउ गरेको छ। चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं. ३ स्थित नगरवनमा एकजना बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा भरतपुर नं. ३ बस्ने बर्ष ३५ का हरि श्रेष्ठलाई सोमबार नियन्त्रणमा लिएर मंगलबार सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए। श्रेष्ठमाथि चार दिनको म्याद थप गरी अनुसन्धान भइरहेको उनले बताए।