काठमाडौँ, ११ साउन। गएको वर्षमा देशभर सवारीसाधन दुर्घटनामा परी दुई हजार ७८९ जनाको मृत्यु भएको छ। पछिल्लो समय सवारीसाधन खरिद बिक्री बढेसँगै दुर्घटनामा समेत वृद्धि भएको प्रहरीले जनाएको छ। आर्थिक वर्ष २०७५/७६ मा देशभर १३ हजार ३६६ सवारीसाधन दुर्घटनामा पर्दा दुई हजार ७८९ जनाले अकालमै ज्यान गुमाउनु परेका प्रहरी प्रवक्ता एवम् प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए।
दुर्घटनामा चार हजार ३७६ जना गम्भीर घाइते तथा १० हजार ३६० व्यक्ति सामान्य घाइते भएका थिए। प्रहरी प्रवक्ता पोखरेलका अनुसार आर्थिक वर्ष २०७४/७५ को तुलनामा आर्थिक वर्ष २०७५/७६ मा देशभर सवारीसाधन दुर्घटनाबाट मृत्यु हुनेको संख्या बढेको छ। आर्थिक वर्ष २०७४/७५ मा जम्मा नौ हजार ९८९ सवारीसाधन दुर्घटना हुँदा दुई हजार ३१८ जनाको मृत्यु भएको थियो। यस्तै आर्थिक वर्ष २०७३/७४ मा भने आर्थिक वर्ष २०७४/७५ को भन्दा बढी व्यक्तिको सवारी दुर्घटना परी मृत्यु भएको थियो।
आर्थिक वर्ष २०७३/७४ मा १० हजार १७८ सवारीसाधन दुर्घटना हुँदा दुई हजार ३८४ जनाको मृत्यु भएको थियो। चालकको लापरवाही, यात्रुको गल्ती, उछिन्ने काम, तीव्रगति, मादकपदार्थ सेवन, यान्त्रिक गडबडी, बढी गहरुङगो सामानका कारण बढी दुर्घटना हुने गरेको प्रवक्ता पोखरेले जानकारी दिए। मोटरसाइकल, ट्रक, टिपर, जीप, कार, ट्याक्टर र टेम्पोलगायतका सवारीसाधन सबैभन्दा बढी दुर्घटनामा पर्ने गरेका प्रहरीले जनाएको छ।

उपत्यकामा बढी
काठमाडौँ उपत्यकामा वर्षेनि सवारी दुर्घटना बढ्दै गएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आर्थिक वर्ष २०७४/७५ को तुलनामा आर्थिक वर्ष २०७५/७६ मा सवारी दुर्घटनाबाट मृत्यु हुनेको संख्या धेरै छ। आर्थिक वर्ष २०७३/७४ मा उपत्यकामा सवारी दुर्घटनाबाट १९४ जनाको मृत्यु भएकामा आर्थिक वर्ष २०७५/७६ मा उक्त संख्या बढेर २५४ पुगेको छ। आर्थिक वर्ष २०७३/७४ मा उपत्यकामा सवारी दुर्घटनाबाट १८२ जनाको ज्यान गएको थियो।
फराकिलो सडक, भौतिक पूर्वाधारको कमी र तीव्र गतिका कारण उपत्यकामा सवारीसाधन दुर्घटनामा वृद्धि भएको प्रहरीको भनाइ छ। महाशाखाले उपत्यकाको सवारी दुर्घटनालाई कम गर्न विभिन्न समय विभिन्न किसिमका जनचेतनामूलक कक्षा सञ्चालन, तीव्र गतिमा गुड्ने सवारीसाधनलाई सीमित गति, सडकको बीच भागमा डिभाइडर राख्नेलगायत काम गर्दै आएको छ।

किन हुन्छ दुर्घटना ?
लामो समयदेखि महानगरीय ट्राफिक प्रहरी महाशाखामा बसेर काम गरेका पूर्वप्रहरी उपरीक्षक जगतमान श्रेष्ठ मानवीय कारणअन्तर्गत तीव्र गतिमा सवारी चलाउनु र चालकको लापरवाहीका कारण बढी दुर्घटना हुने गरेको बताउँछन्। २५ प्रतिशतभन्दा बढी दुर्घटना चालकको लापरवाहीका कारण हुने गरेको उनले दावी गरे।
नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल भने सडक सुरक्षित भएमात्र सवारीसाधन दुर्घटनामा कमी आउने भएकाले सडक सुरक्षित गर्न नेपाल प्रहरीले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउँछन्। सडक दुर्घटनालाई कम गर्न गृहमन्त्रालयले सात प्रदेशको १४ स्थानमा चालक तथा यात्रुका लागि आरामस्थल निर्माण गरिरहेको उनले बताए। यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३५ लाख तथा काठमाडौँ उपत्यकामा ११ लाखको हाराहारीमा सानाठूला सवारीसाधन सञ्चालनमा छन्। –रासस