चितवन, ११ साउन । भारतमा एउटा भिडियो भाइरल बनेको छ, सामाजिक सन्जालमा। देखाइएको छ कि बुर्का लगाएका मुस्लिम समुदायका महिलाहरू हिन्दु धर्मावलम्बीको विशेष संस्कृति बोलबम यात्रामा अन्य हिन्दु महिलाहरूसँगै सहभागी भएका छन्।
पछिल्ला तीन चार दिनमा फेसबुक र ट्विटरका भित्ताहरू यही भिडियोले भरिएका छन्। भिडियो सेयर गर्नेहरूले भनेका छन् – “हजारौं मुस्लिम महिलाहरू हिंडेका छन् काँवरिया लिएर देवघर जल चढाउन। भोलेनाथले उनीहरूको मनोकामना पूरा गरुन्।”
यस्तो सन्देश लेख्दै लाखौं पटक यो भिडियो सेयर भइसकेको छ। सेयर गर्दा भनिएको छ कि यसै वर्षको श्रावण महिनाको सोमबार भारतको इन्दौर शहरमा मुस्लिम महिलाहरूले हिन्दु महिलाहरूसँग मिलेर यो यात्रा गरेका हुन्।
के हो त वास्तविकता?
विविसीले भने यो भिडियोको वास्तविकतालाई केही फरक भएको पुस्टि गर्न खोजेको छ। उसको रिपोर्टअनुसार भिडियोको दृश्य सत्य भएपनि यो सामाजिक सन्जालमा भनिए जस्तो सन् २०१९ को नभइ सन् २०१५-१६ तिरको हो।
सन् २०१५/१६ मा ‘साझा संस्कृति मन्च’ नामको एक संस्थाले भारतको इन्दौर शहरमा एउटा विशेष कार्यक्रमको आयोजना गरेको थियो। त्यही विशेष योजना अन्तर्गत मुस्लिम महिलाहरू यो यात्रामा सहभागी भएका थिए। सामाजिक सन्जालमा भाइरल गराइएको सन्देश जस्तो धार्मिक आस्थाका कारण नभई धार्मिक सद्भावका लागि यसो गरिएको थियो।
विविसी संवाददाताले उक्त संस्थाका संयोजक सेम पावरीसँग जानकारी लिंदा यो पुष्टी भएको छ कि भाइरल भएको भिडियो सन् २०१६ को अगस्ट १४ तारिखको हो। उनका अनुसार यो कार्यक्रम २ वर्षको लागि गरिएको थियो। जसमा २०१५ मा १३ सय मुस्लिम महिलाले सहभागिता जनाएका थिए भने २०१६ मा यो संख्या ४ हजार भन्दा बढी थियो।