लमजुङ, ०८ साउन। भारी वर्षासँगै दोर्दीखोलामा आएकाले बाढीले बगाएका चार जनाको शव भेटिएको छ। बुधबार दिउँसो दोर्दी गाउँपालिका– ६ ढोडेनीमाथि लेकबाट अचानक बाढी आउँदा दोर्दीखोलाले बगाएको चार जनाको शव दोर्दी गाउँपालिकाका विभिन्न स्थानमा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्रमान गुरुङले जानकारी दिए।
प्रहरीका अनुसार शव भेटिए पनि पहिचान भने हुन सकेको छैन। आधा दर्जनभन्दा बढी घाइते अवस्थामा उद्धार गरिएको उनले बताए। बाढी आएपछि दोर्दी करिडोरमा निर्माणाधीन जलविद्युत् आयोजनामा कार्यरत कामदारहरूले भने भागेर ज्यान बचाएका थिए। दोर्दीखोलामा निर्माणधीन २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनामा क्षति पुगेको र काम गर्ने ठाउँमा बाढी छिर्दा धनजनको समेत क्षति भएको आयोजनाका सञ्चालक राजेन्द्र वस्तीले बताए। उनका अनुसार केही कामदार बेपत्ता भएको आशंका गरिएको छ।
बाढीमा परी केही व्यक्ति घाइते भएको नौथर शेराका स्थानीय लक्ष्मण गुरुङले बताए। घाइतेलाई स्थानीयको सहयोगमा उद्धार गरी उपचारका लागि विभिन्न अस्पतालमा पठाइएको छ। घटनाबारे विस्तृत जानकारी भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ।


























