गोरखा, ०७ साउन। गोरखामा पहिलो पटक खसीबोका सङ्कलन केन्द्र निर्माण गरिएको छ। जिल्लाभरका किसानले पालेका खसीबोका बिक्रीका लागि सो केन्द्र निर्माण गरिएको हो। गोरखा नगरपालिका–११ स्थित बाह्रकिलो बजार नजिकै करिब ५०० वटा खसीबोका अट्ने गरी सङ्कलन केन्द्र निर्माण गरिएको पशु सेवा विज्ञ केन्द्र गोरखाका प्रमुख डा ब्रजकिशोर ठाकुरले जानकारी दिए।
गण्डकी प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको सहयोगमा गोरखा जिल्लामा खसीबोका सङ्कलन केन्द्र निर्माण गरिएको उनले बताए। जिल्लाभरका किसानलाई खसीबोका बिक्रीका लागि उपयुक्त बजार नहँुदा समस्या हँुदै आएकोमा संकलन केन्द्र स्थापना गरेपछि सहज हुने उनको भनाइ छ। सङ्कलन केन्द्रमा किसानले ल्याएर राख्दा पैसा नलाग्ने व्यवस्था गरिएको उनले बताए।
केन्द्रमा खसीबोका राख्नका लागि सुरक्षित खोरहरू निर्माण गरिएका छन्। प्रत्येक खसीबोकालाई चिसोबाट जोगाउन सकिने गरी खोर निर्माण गरिएको डा ठाकुरले बताए। ‘तर, सङ्कलन केन्द्रमा राखिने खसीबोको रेखदेख र हेरविचार भने किसान आफैँले गर्नुपर्ने हुन्छ,’ उनले भने।
बाह्रकिलो बजारबाट काठमाडाँै, पोखरा, चितवन, वीरगञ्जलगायतका मुख्य–मुख्य सहरसम्म खसीबोका पुर्याउन सजिलो हुने भएकाले उक्त स्थानमा सङ्कलन केन्द्र निर्माण गरिएको उनले बताए। कूल चार लाख ३० हजार रूपैयाँको लागतमा उक्त खोर निर्माण गरिएको हो। डिभिजन वन कार्यालय गोरखाको समन्वयमा सामुदायिक वनको स्वामित्वमा रहेको वनको जग्गामा सङ्कलन केन्द्र निर्माण गरिएको वडाध्यक्ष रामबहादुर खड्काले बताए। –रासस