चितवन, ०६ साउन। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले योवर्ष पुरस्कृत हुने पुस्तकहरूको नाम सार्वजनिक गरेको छ। योवर्षको ‘अनेसास सर्वाेत्कृष्ट पुस्तक पुरस्कार’बाट विभिन्न विधाका आठवटा पुस्तकलाई पुरस्कृत गरिने समाजले जनाएको छ।
नरेन्द्रराज पौडेलको कथासंग्रह ‘रोबोटका आँखाहरू’, रमेश दियालीको उपन्यास ‘छाप्रो नं ५५’, कुन्ता शर्माको कविता संग्रह ‘मेरो मान्छे’, युवराज मैनालीको लघु कथासंग्रह ‘पृथक बाटो’, तीर्थ गुरूङको उपन्यास ‘पाठशाला’, घनश्याम राजकर्णिकारको संस्करण निबन्ध संग्रह ‘यात्रा छहारीमा हिउँफुलकी रानी’, नमिता बरालको गजलसंग्रह ‘आँगन’ र तेजबहादुुर काकीको अनुसन्धान ‘मस्टो संस्कृति’लाई उक्त पुरस्कार प्रदान गर्न लागेको हो।

महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीको अवसरका दिन भव्य समारोहका बीच अमेरिकास्थित वासिङटन डीसीमा उक्त पुरस्कार वितरण हुनेछ।


























