चितवन, २९ असार। आज आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती चितवनसहित देशभरका विभिन्न जिल्लामा भानुको सम्झनामा कार्यक्रम आयोजना गरेर मनाइँदैछ। वाल्मीकि रामायणका अनुवादकका रूपमा प्रख्यात आदिकवि भानुभक्त आचार्यलाई नेपाली साहित्यको प्राथमिक कालका प्रतिनिधि कविको रूपमासमेत लिने गरिन्छ। मोतिराम भट्टले पहिलोपटक नेपाली भाषाका आदिकविको उपाधि दिएका थिए।
‘प्रश्नोत्तर’ (वि.सं. १९१०), ‘भक्तमाला’ (वि.सं. १९१०), ‘वधूशिक्षा’ (वि सं १९१९) लगायतका कृतिहरू लेखेका आचार्यका पाण्डुलिपिलाई संग्रह गरेर मोतिराम भट्टले पुस्तकाकारमा प्रकाशित गरेपछि उनी नेपाली साहित्यमा चिनिएका हुन्। तनहुँको चुँदी रम्घामा जन्मिएका बहुआयामिक व्यक्ति¤व आचार्यलाई राणाकालीन संकटपूर्ण, अस्थिर वातावरणभित्र रामको आदर्श सृष्टि गर्ने मार्गदर्शकको रूपमा समेत लिने गरिन्छ।
ग्रामीण परिवेशको सामान्य परिवारमा जन्मेर पनि संस्कृत शिक्षाको राम्रो अध्ययन गरी समग्र नेपाली भाषीलाई एकताको सूत्रमा उनेर नेपालीभाषामा रामायण लेख्नु कवि भानुभक्तको विशिष्ट योगदान रहेको वर्तमान साहित्यकारहरू बताउँछन् । भानुभक्तको सम्झना र सम्मानमा भानुभक्तको जन्मस्थल तनहुँको भानु नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ।