चितवन, २८ असार। चितवन साहित्य परिषद्ले प्रदान गर्दै आएको ‘चिसाप–खेमलाल लामिछाने साहित्य पुरस्कार–२०७६’ बाट साहित्यकार भूपिन खड्काको औपन्यासिक कृति ‘मैदारो’लाई पुरस्कृत गरिएको छ। परिषद् र नारायणी कला मन्दिरको संयुक्त आयोजनामा भएको कार्यक्रममा ‘मैदारो’ उपन्यासको लागि भूपिनलाई नगद ५० हजार ४५ रूपैयाँ राशीको पुरस्कार प्रदान गरिएको चितवन साहित्य परिषदका अध्यक्ष सुरेन्द्र अस्तफलले जानकारी दिए।
यसअघि ‘चौबीस रील’ निबन्ध संग्रह र ‘सुप्लाको हवाइजहाज’ कविता संग्रहबाट नेपाली साहित्याकाशमा आफ्नो परिचय फराकिलो बनाएका साहित्यकार भूपिनको उपन्यास ‘मैदारो’ पाठकमाझ निकै लोकप्रिय बनेको छ। पुरस्कार ग्रहण गरिसकेपछि लेखक भूपिनले आफूलाई साहित्य लेखनमा थप सशक्त बनाउनमा दबाब पुगेको प्रतिक्रिया दिए।
भूपिनको यसअघि नै ‘क्षतिग्रस्त पृथ्वी र मूल सडक’, ‘हजार वर्षको निद्रा’ लगायतका कृति प्रकाशित छन्। भानु जयन्तीको अवसरमा आयोजित उक्त कार्यक्रममा ‘चिसाप प्रतिभा पुरस्कार–२०७६’बाट नगद ११ हजार ४५ सहित गजलकार पुष्प अधिकारी (अन्जलि) र ‘चिसाप साहित्य सम्मान–२०७६’ बाट कवि बालकृष्ण थपलियालाई सम्मान गरिएको छ।
सोही अवसरमा चितवनको रत्ननगर नगरपालिकाले वाल्मीकि साहित्य सदनका अध्यक्ष रामबाबु घिमिरेलाई नगद २५ हजार र साहित्यकारहरू डा. धनेश्वर भट्टराई, डा. कृष्ण पौडेल, मोदनाथ मरहट्टा, रामहरि अर्याल र कमल अर्याललाई जनही दस/दस हजार रूपैयाँसहित सम्मान गरेको छ। नेपाली साहित्यको उन्नयनमा मह¤वपूर्ण योगदान दिएको भन्दै उनीहरूलाई सम्मान गरिएको नगरपालिकाका मेयर नारायण वनले जानकारी दिए।
सोही अवसरमा गैँडाकोट जेसिजले अग्रज साहित्यकार गोविन्दराज विनोदीलाई सम्मान गरेको छ। नवलपुर जिल्लाको गैँडाकोटस्थित साहित्यकार विनोदीको घरमै पुगेर सम्मान गरिएको हो।