चितवन, २२ असार। नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का पोलिटब्यूरो सदस्य श्रीनाथ अधिकारीको आइतबार राति निधन भएको छ। नेपाल क्यान्सर हस्पिटल हरिसिद्धि काठमाडौँमा उपचाररत् अधिकारीको राति ८ बजेर २ मिनेट जाँदा निधन भएको बहिनी शान्ता अधिकारीले जानकारी दिइन्।
पत्रकारसमेत रहेकी बहिनी शान्ताका अनुसार सघन उपचार कक्षमा उपचाररत् अधिकारीको सोमबार अन्तिम श्रद्धाञ्जलीसँगै अन्त्येष्टि गरिने भएको छ। गत वर्ष पुस २७ गते विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा भर्ना भएका अधिकारीलाई थप उपचारको लागि वैशाख २२ गते हरिसिद्धि लगिएको थियो।
उनलाई फोक्सोमा देखिएको क्यान्सर फैलिएर टाउकोसम्म पुगेको थियो भने कम्मरमुनिको भागमा पक्षघात भएको थियो। नेता अधिकारीलाई शनिबार साँझ पार्टीका महासचिव मोहन वैद्य किरण, आइतबार नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ, सिपी गजुरेल, पूर्णकुमारी श्रेष्ठलगायतका नेताहरूले भेट गरेका थिए।
वि.सं. २०१२ सालमा हालको अजिरकोट गाउँपालिका–३, गोरखामा जन्मिएका अधिकारी विसंं २०३२ देखि कम्युनिष्ट आन्दोलनमा लागेका थिए। माओवादी पार्टी विभाजनसँगै वैद्य नेतृत्वमा लागेका उनलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, गृहमन्त्री रामबहादुर थापालगायतले अस्पताल पुगेर स्वास्थ्यलाभको कामनासहित सहयोगका लागि आश्वासनसमेत दिएका थिए।
अधिकारीका छोरा नारायण सोही पार्टीका गोरखा जिल्ला इञ्चार्ज र बुहारी सुशीला थापा पार्टीको केन्द्रीय सदस्य पदमा छन्।