चितवन, १८ असार। मान्छेको आ–आफ्नै सोच र चाहना हुन्छन्। कसैको पूरा हुन्छ त कसैको नहुन सक्छ। तर, कसैले सोचेभन्दा फरक काममा पनि सफलता हासिल गर्न सक्छ। गोरखा अजिरकोट गाउँपालिका वडा नं. ३ बुद्धसिङ स्थायी घर भई हाल काठमाडौँ बस्दै आएकी वृद्ध दुर्गादेवी गुरूङको जीवनमा पनि यस्तै भएको छ।
उनी सानैदेखि गीत गाउने, नाच्ने गर्थिन्। सामाजिक कर्ममा पनि उत्तिकै रूचि राख्थिन्। आफ्नो रूचि र चाहनाअनुसार सामाजिक कार्यमा त उनी सफल भइन्। तर, गीत संगित यनको लागि आकाशको फल भनेजस्तै भयो।
तैपनि आफ्नो इच्छालाई मर्न दिइनन् र ७१ वर्षको उमेरमा पनि गीत लेखेर रेकर्ड गराउन सफल भइकी छन्। घरभरि नाती नातिना भइसके पनि उनले सानैदेखिको सपनालाई केही हदसम्म पूरा गरेकी छन्।
लम्जुङ जिल्लाको दूधपोखरी गाउँपालिका भुम्लीचोकमा जन्मेहुर्केकी गुरूङले केही समय अगाडि सामाजिक तथा सांस्कृतिक गीत रेकर्ड गराएकी हुन्। विशेष गरी गुरूङ समाजमा हुने सांस्कृतिक कृयाकलापमा प्रयोग हुने मौलिक गीतलाई उनले शब्दमा उनेर रेकर्ड गराएकी हुन्। काठमाडौँ बुढानिलकण्ठमा बस्दै आएकी उनले ‘लागोस बुद्धको अशिक’ बोलको गीत रेकर्ड गराएकी हुन्।
‘खासगरी गुरूङ समुदायमा विभिन्न खालका शुभकार्य हुने गर्दछन्,’ उनी भन्छिन्, ‘उक्त कार्यको समापनमा गाइने मौलिक आषिक गीतलाई रेकर्ड मात्रै गराएकी हुँ।’ गुरूङ समुदायमा शुभकार्यको समापनमा नाचगान टोलीलाई कर्ताबाट दक्षिणा प्रदान गरिसकेपछि उनीहरूलाई धन्यवादसहित आशिष दिने प्रचलन छ।
सोही गीतलाई जीवन्त बनाउन र भावी सन्ततिलाई पनि आफ्नो संस्कार, संस्कृतिबारे जानकारी गराउने उद्देश्यले गीत रेकर्ड गराएको उनले बताइन्। उक्त गीतको लयसमेत आफैँले संकलन गरेकी छन्। स्वरमा भने अहिलेकी व्यस्त गायिका देवी घर्तीमगरले साथ दिएकी छन्।
उक्त गीतको म्युजिक भिडियोसमेत तयार भइसकेको छ। चितवनको भरतपुर महानगर २५ भीमनगर फलेनी गाउँमा उक्त गीतको भिडियो छायांकन गरिएको छ। भिडियोलाई युवा निर्देशक सुमित लामाले निर्देशन गरेका छन्।
गीतकार गुरूङको चाहना र शब्दको मागअनुसार परम्परागत घर तथा गुरूङ गाउँमा भिडियो छायांकन गर्नुपर्ने भएकोले गुरूङ समुदायको बसोबास रहेको फलेनी गाउँमा छायाँकन गरिएको निर्देशक लामाले जानकारी दिए।
भिडियोको सम्पूर्ण काम सकिसकेकोले यही हप्ताभित्र सामाजिक सञ्जाल युट्युबमार्फत सार्वजनिक गर्ने तयारी रहेको उनको भनाइ छ। आफूले निर्देशन गरेका करिब चार दर्जन म्युजिक भिडियोमध्ये सबैभन्दा फरक अनुभव यही गीतको निर्देशनमा गरिएको निर्देशक लामाले बताए।
न्यू भिजनको दोस्रो प्रस्तुतीको रूपमा तयार भएको म्युजिक भिडियोको सम्पादन भने घना गुरूङले गरेका छन्। उक्त म्युजिक भिडियोले गुरूङ समुदायमा प्रचलित संस्कृतिको जगेर्नामा मह¤वपूर्ण भूमिका खेल्ने दृश्य सम्पादक गुरूङले बताए। करिब १२ मिनेट लामो भिडियोको मुख्य भूमिकामा भने प्रिन्सिका श्रेष्ठ देखिएकी छन्।