चितवन, ०५ असार। विवाह, व्रतबन्ध, पूजालगायत शुभकार्यमा बजाउने परम्परागत नौमती र पञ्चेबाजा पछिल्लो समय लोप हुँदै गएको भन्दै चितवनका युवाहरु यसको संरक्षणमा जुटेका छन्। चितवनको इच्छाकामना गाउँपालिका–७ स्याङ्दीका आदिवासी जनजाति समुदायका १५ युवा समूह नै गठन गरी नौमती र पञ्चेबाजा संरक्षणमा जुटेका हुन्। विशेषगरी दलित समुदायले पछिल्लो समय नौमती पञ्चेबाजा बजाउन छाड्दै गएकाले यसको संरक्षणका लागि बाजा बजाउन सुरु गरिएको नयाँबारी साङ्केतिक समूहका अध्यक्ष रामलाल तामाङले बताए।
‘पछिल्लो समय दलित समुदायले गाउँघरमा नौमती बाजा र पञ्चेबाजा बजाउन छाड्दै गएको छ,’ उनले भने, ‘गाउँमा विवाह, व्रतबन्ध, पूजालगायत शुभकार्यमा बाजा बजाउने समूहको अभाव भएको छ, त्यसैले यसको अभाव परिपूर्ति गर्न र संस्कृतिको जगेर्नाका लागि हामी जुटेका हौँ।’ एक वर्षदेखि बाजा बजाउँदै आएको समूहमा तामाङ, गुरुङ र मगर जातिका युवाहरू छन्। यो समूहलाई अहिले भ्याइनभ्याई छ। लोप हुन लागेको पञ्चेबाजाको संरक्षणमा जुटेर नमूना कार्य गरेको भन्दै गाउँपालिकाले पनि सहयोग गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले बताइन्।
गाउँपालिकाले प्रोत्साहनका लागि समूहलाई बाजा खरीद तथा पोशाकका लागि सहयोग गर्ने उनको भनाइ छ। पहिले–पहिले नेपाली समाजमा शुभविवाह, व्रतबन्ध, पूजाजस्ता शुभकार्यमा नौमती पञ्चेबाजा अनिवार्यजस्तै बजाउने गरिन्थ्यो भने दलित समुदायले पेशाका रूपमा बजाउँदै आएका थिए। पछिल्लो समय दलित समुदायले बजाउन छाड्दै जाँदा प्रचलित सांस्कृतिक बाजा लोप हुने अवस्थामा पुगेको हो। पछिल्ला् समय आधुनिकतासँगै नौमती पञ्चेबाजाको स्थान ठूलाठूला स्पिकर तथा ड्रमसेटले लिन थालेको छ। –रासस