चितवन, ०५ असार। लागुऔषधकै कारण जिल्लाको शान्ति सुरक्षामा खलल नपुगोस् भन्ने उद्देश्यले लागूऔषध प्रयोगकर्ता तथा कारोबार गर्नेको खोजी तीब्र पारेको छ। त्यसको लागि अभियानै चलाएर लागुऔषध सेवनकर्ता, बेचबिखन संलग्न व्यक्ति, चुल्ठे मुन्द्रे जस्ता व्यक्तिहरुलाई पक्राउ गरी अभिभावकलाई जिम्मा लगाउने र उनीहरुले गरेका क्रियाकलापबारे जानकारी गराउँदै आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिए।
जिल्लाका विभिन्न स्थानबाट ४० जना लागुऔषध प्रयोगकर्ता तथा कारोबारीलाई पक्राउ गरिएको उनले बताए। उनका अनुसार कतिपयलाई लागुऔषध सेवन गरिरहेकै अवस्थामा पक्राउ गरिएको हो। पक्राउ परेकाहरुलाई लागुऔषधको प्रयोगबाट मानव शरीरमा पर्ने प्रत्यक्ष तथा अप्रत्यक्ष असरबारे प्रशिक्षण दिने गरेको छ। कारोबारमै संलग्न भएको पाइएमा भने प्रचलित कानुनअनुसार मुद्दा दर्ता गरेर कारवाही अगाडि बढाइने उनको भनाइ छ।