वासिङ्टन डिसी, ०४ असार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो पटक पनि राष्ट्रपतिमा निर्वाचित हुन औपचारिकरूपमै प्रचारप्रसार अभियान थालेका छन्। सन् २०२० मा हुने निर्वाचनको लागि फ्लोरिडाको ओल्र्याण्डबाट प्रचारप्रसार अभियान सुरू गरेका हुन्। ओल्र्याण्डोमा आयोजित र्यालीलाई सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले भने, ‘मैले अमेरिकाको राष्ट्रपतिमा अर्को एक पटक निर्वाचित हुनका लागि आजदेखि औपचारिकरूपमा प्रचार अभियान सुरू गरेको छु।’
सम्बोधनका क्रममा उनले फ्लोरिडा राज्य आफ्नो ‘दोस्रो घर’ भएको बताउँदै समर्थकहरूलाई अर्को चार वर्षका लागि ‘एक ढिक्का रहन’समेत आग्रह गरे। बलियो अर्थतन्त्र र आप्रवासीबारे कडा नीतिका कारण आफ्नो पहिलो कार्यकाल सफल भएको दाबी गर्दै उउनले आफू सधैँ अमेरिकी जनतालाई प्राथमिकता दिने पक्षमा रहेको बताए। थप चार वर्षको कार्यकालका लागि राष्ट्रपति बन्न खोजेका ट्रम्पले विपक्षी डेमोक्य्राटिटक पार्टीका नेताहरूको चर्को आलोचना गरे।
प्रारम्भिक मत सर्वेक्षणले डेमोक्य्राटिक तर्फका सम्भावित उम्मेदवारभन्दा उनी पछाडि रहेको देखाएकाले ट्रम्प उनीहरूप्रति थप आक्रोशित भएको बताइएको छ। सन् २०१६ को चुनावमा डेमोक्य्राटिक उम्मेदवार हिलारी क्लिन्टनलाई पराजित गर्दै ट्रम्प अमेरिकाको ४५औँ राष्ट्रपति बनेका थिए। अहिले सुरू भएको चुनावी र्यालीमा प्रथम महिला मेलानिया ट्रम्प पनि सहभागी भएकी थिइन्।