काठमाडौँ, ०४ असार। प्रधानमन्त्री केपी शर्मा ओलीले कानुनी र अन्य प्रक्रियाको झन्झटले विकास निर्माण अवरोध हुन नहुने बताएका छन्। राष्ट्रिय विकास समस्या समाधान समितिका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले बुधबार राजधानीमा आयोजित समितिको ४५औँ बैठकमा केही राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा विभिन्न कानुनी मुद्दा देखाई काम अवरोध भएकोप्रति लक्षित गर्दै असन्तुष्टि समेत व्यक्त गरे।
‘विकास निर्माणमा हाम्रो प्रयास राम्रै छ, केही योजनामा काम अघि नबढाई लामो समयसम्म अलपत्र पार्नेलाई भने अयोग्य घोषणा गर्नुपर्छ,’ उनले भने, ‘संघअन्तर्गतका मन्त्रालयबीच एकापसमा र तीनै तहका सरकारबीच समन्वय गर्न सहजीकरण समिति बनाइएकोले यसले छिटो विकास गर्न योगदान दिनेछ भन्ने विश्वास लिएको छु।’ फरक प्रसङ्गमा प्रधानमन्त्री ओलीले नातावाद, कृपावाद र भ्रष्टाचारले लोकतन्त्र बदनाम हुने बताए। ‘यसलाई नियन्त्रण गर्नुपर्छ, लोकतन्त्र सुृढीकरणका लागि थिति बसाल्नैपर्छ, हामी सफल हुन्छौँ र सफल हुनुपर्छ,’ उनले भने।
मुलुकको आर्थिक स्थिति उत्साहित रहेको दावी गर्दै प्रधानमन्त्री ओलीले धेरै समस्या समाधान भइसकेको बताए। विभिन्न आरोह अवरोहपछि पनि करिब सात प्रतिशतको आर्थिक वृद्धि हासिल हुनु ठूलो उपलब्धि भएको उनको भनाइ छ। भएका केही कमजोरी सुधार्दै जानुपर्ने बताउँदै प्रधानमन्त्री ओलीले भ्रष्टाचार, ढिलासुस्ती र कमजोरी नगरी दृढताका साथ अघि बढ्न सबैलाई निर्देशन दिए। ‘सरकारलाई असहयोग गर्ने र जनतामा निराशा छर्ने काम भइरहेको छ,’ उनले भने, ‘राजनीतिक क्षेत्रमा त यस्तो हुन्छ, तर सरकारी निकायबाट पनि यस्तो काम भएको जानकारी छ। ती कुराहरुमा सजग हुनु जरूरी छ।’





















