सबैभन्दा बढी नेकपाका अध्यक्षद्वयको क्षेत्रमा
चितवन, ०३ असार। आर्थिक वर्षको अन्त्यतिर धेरैजसो रकम रकमान्तर गर्ने प्रचलनले योवर्ष पनि निरन्तरता पाएको छ। आर्थिक वर्ष २०७५/७६ सकिनै लाग्दा सरकारले पछिल्लो दुई महिनामै २० अर्ब रुपैयाँ रकमान्तर गरेको छ। सबै भन्दा बढी प्रधानमन्त्री केपी ओली र सत्तारुढ दल नेकपाका अध्यक्ष पु्ष्पकमल दाहाल प्रचण्डको क्षेत्रको सडक निर्माणका लागि रकमान्तर गरिएको छ।
प्रचण्डको गृहजिल्ला चितवनमा पनि तराई मधेस सडक पूर्वाधार विशेष कार्यक्रमका ७ सडकका लागि प्रतिसडक ३ करोडका दरले २१ करोड रुपैयाँ रकमान्तर गरिएको छ। सरकारले वैशाख र जेठ महिनामा मात्र २० अर्ब ५९ करोड ५३ लाख १३ हजार रकमान्तर गरेको हो। यसमध्ये वैशाखमा सर्वाधिक १६ अर्ब ९४ करोड ९१ लाख २० हजार रुपैयाँ बराबरको रकमान्तर भएको छ भने जेठमा ३ अर्ब ६३ करोड ९८ लाख ४३ हजार रहेको छ। यस्तै सरकारले प्रधानमन्त्रीको जिल्लाका सडक बनाउन ३१ करोड रकमान्तर गरेको छ।