चितवन, १८ जेठ। धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ले आफूले गलत कुरा बोलेको प्रमाणित भए रंगाशाला मैदानमै झुण्डिन तयार रहेको बताएका छन्। शनिबार निर्माणधीन रंगाशाला मैदानमा भएको अनौपचारिक कार्यक्रममा रंगाशाला क्षेत्र आसपासका स्थानीयलाई प्रष्ट पार्दै उनले भने, ‘यदि मैले बनावटी कुरा गरेको भए म यही मैदानमा झुण्डिन तयार छु। म हत्तपत्त रूने मान्छे होइन, यो घटनामा म रोएँ। कसैलाई लाग्ला नाटक गर्न रोयो, मेरो मन रोयो। सिंगो नेपालीको मन रोएको हो।’

फाउण्डेशनले अहिलेसम्म इमान्दारितापूर्वक निश्वार्थ काम गर्दै आएको उनले दावी गरे। सामाजिक सञ्जालमा विभिन्न खालका टिप्पणी आइरहेको भन्दै उनले फाउण्डेशनभन्दा बढी यहीँका स्थानीय दुःखी भएको बताए। ‘यो घटनाले हामीभन्दा तपाइँहरू नै बढी दुःखी हुनुभएको छ। हामी त पाहुना मात्र हौँ,’ उनले भने, किनकि हामी यहाँ हाम्रो घर बनाउन आएका होइनौँ, लिन आएका होइनौँ, दिन आएका हौँ।’ देशको लागि पीडा सहेर खेल खेल्दै आएका दाजुभाइको लागि मैदान बनाउन आएको उनको भनाइ छ।

सामाजिक सञ्जालमा विभिन्न खालका टिप्पणी आइरहेको भनदै उनले थपे, ‘हिजो डोजर चलाउनेदेखि यहाँका सबै स्थानीयलाई हामीले छलफल गरेरै काम गरिरहेका छौँ। तर, सामाजिक सञ्जालमा हामीलाई सोधिएन, हाम्रो इच्छा विपरित काम भयो भन्ने खालका कुराहरू आइरहेका छन्। तर, हामीले हरेकलाई छलफलमा ल्याएका छौँ।’ त्यति गर्दागर्दै पनि डोजर चलाएर समग्र विकासमाथि नै प्रहार गरेको उनले बताए। ‘यहाँ रंगाशालामाथि डोजर प्रहार गर्यो, त्यो हामीमाथि प्रहार भएको होइन,’ उनले भने, ‘विकासमाथि प्रहार भएको हो। तर, अब जे–जे भए पनि स्थानीयबाट सकारात्मक सहयोगको अपेक्षा गरेको छु।’
धुर्मुस सहित चितवनका राजनैतिक दलका प्रतिनीधि सहित जनप्रतिनीधिहरूले यस घटनाका विषयमा बोलेका कुराहरूको भिडियो क्लिप हेर्नुहोस् –