चितवन, १५ जेठ। चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणस्थलमा लगाइएको बार नेकपाका स्थानीय नेताहरुको सक्रियतामा डोजर लगाएर भत्काइएको छ। बुधबार नेकपाका स्थानीय नेतासमेत रहेका प्रकाश कँडेल, धुर्मस–सुन्तली फाउण्डेसनको साइट कार्यालयका घरबेटी सुरेन्द्र विकसहितका व्यक्तिहरुले जस्ताको बार भत्काएको स्थानीयले जानकारी दिए। उनीहरूले फाउण्डेशनका कर्मचारीलाई धम्कीसमेत दिएका छन्।
घटनामा संलग्न भएको आशंकामा जिल्ला प्रहरी कार्यालय चितवनले १६ जनालाई पक्राउ गरेको जनाएको छ। घटनामा संलग्न मुख्य व्यक्ति भनिएका प्रकाश कँडेलको भने खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डिएसपी) दुर्गाराज रेग्मीले जानकारी दिए। उनका अनुसार बार भत्काउन प्रयोग गरिएको डोजरसमेत प्रहरीले नियन्त्रणमा लिएको छ।
रंगशाला निर्माणको पश्चिमतर्फ सडक निर्माणका लागि फाउण्डेसनले जग्गा छाड्नुपर्ने माग स्थानीयको छ। कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर चितवनले भोगचलन गर्दै आएको जग्गाबाट सडक बनाउनुपर्ने उनीहरूको माग थियो। चार दिनअघि यस विषयमा स्थानीयसँग फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलले छलफलसमेत गरेका थिए। छलफलमा रंगशालाको पूरा डीपीआर भइसकेपछि मात्रै निर्यौक्ल हुने भएकोले तत्काल काम गर्न दिन अनुरोध गरेका थिए। स्थानीयका लागि मात्रै नभई रंगशालाको लागिसमेत सडक चाहिने भएकोले करिब १० मिटर जग्गा सडकका लागि जग्गा छाड्ने धुर्मुसले विश्वास दिलाएका थिए ।
स्रोतका अनुसार केही स्थानीय ठेकेदारले आफूहरूसँग निर्माण सामाग्री लिनुपर्ने, स्थानीयलाई कमिसन दिनुपर्नेलगायतका माग गर्दै साइट कार्यालयमा गई धम्की दिने गरेका छन्। तिनै धम्की दिने व्यक्तिहरूले नै डोजर लगाएर बार भत्काएको फाउण्डेसनका कर्मचारीले बताए। उक्त घटनाप्रति भरतपुर महानगरपालिकाले पनि गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। मेयर रेनु दाहालले अराजक व्यक्तिहरुको भीडले रंगशाला निर्माणस्थलमा गराएको घटनालाई गम्भीररूपमा लिएको बताइन्। चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले राष्ट्रिय गौरवको आयोजना भएकोले उक्त घटनामा संलग्नलाई कारवाही गरिने बताए।