काठमाडौँ, १५ जेठ। सरकारले आगामी आर्थिक वर्षका लागि १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ। सङ्घीय संसद्को संयुक्त बैठकमा बुधबार बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले विनियोजित रकममध्ये चालू खर्च नौ खर्ब ५७ अर्ब १० करोड १४ लाख रुपैयाँ र पूँजीगततर्फ चार खर्ब आठ अर्ब ५९ लाख रुपैयाँ निर्धारण गरिएको बताए। त्यसैगरी वित्तीय व्यवस्थातर्फ एक खर्ब ६७ अर्ब ८५ करोड ९८ लाख रुपैयाँ विनियोजन गरिएको छ।
आगामी आवमा अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये राजश्वबाट नौ खर्ब ८१ अर्ब १३ करोड ८३ लाख रुपैयाँ तथा वैदेशिक अनुदानबाट ५७ अर्ब ९९ करोड ५५ लाख रुपैयाँ उपयोग गर्दा नपुग्ने चार खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बराबरको रकम वैदेशिक ऋण र अन्य स्रोतबाट व्यहोरिनेछ।
चालू आर्थिक वर्षका लागि गत वर्ष १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गरिएको थियो। कूल विनियोजनमध्ये चालूतर्फ आठ खर्ब ४५ अर्ब ४४ करोड ७५ लाख रुपैयाँ, पूँजीगततर्फ तीन खर्ब १३ अर्ब ९९ करोड ८२ लाख रुपैयाँ र वित्तीय व्यवस्थातर्फ एक खर्ब ५५ अर्ब ७१ करोड ७० लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो। नेपालको संविधानमा नै हरेक वर्ष जेठ १५ गते अर्थात् गणतन्त्र दिवसको दिन बजेट प्रस्तुत गर्नुपर्ने प्रावधान छ। सोही अनुरुप अर्थमन्त्री डा खतिवडाले बुधबार बजेट पेश गरेका हुन्। -रासस