काठमाडौं, १५ जेठ। सरकारले बुधबार आगामी आर्थिक वर्षको बजेट संघीय संसदमा पेश गर्दैछ। अपराह्न ४ बजे बस्ने प्रतिनिधिसभा र राष्ट्रिसभाको संयुक्त बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७६र७७ को अनुमानित आयव्यवको विवरण अर्थात् बजेट पेस गर्ने छन्।
नेपालको संविधानमै हरेक वर्षको जेठ १५ गते अर्थात गणतन्त्र दिवसको दिन बजेट प्रस्तुत गर्ने व्यवस्था छ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले दोस्रो पटक बजेट प्रस्तुत गर्न लागेको हो। यसवर्षको बजेटमा भौतिक पूर्वाधार, ऊर्जा, पर्यटन, कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको बताइएको छ। करिब १५ खर्ब बराबरको बजेट ल्याउन राष्ट्रिय योजना आयोगले अर्थ मन्त्रालयलाई सीमा तोकेको थियो।
चालू आर्थिक वर्षमा सात प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको सरकारले आगामी आर्थिक वर्षको बजेटलाई बढी व्यवहारिक र कार्यान्वयनमुखी बनाउने लक्ष्य राखेको छ। आर्थिक समृद्धिलाई केन्द्रमा राखेर अगाडि बढेको सरकारले बजेटमा केही नयाँ र आकर्षक कार्यक्रमसमेत राखेको बुझिएको छ।
चालू आर्थिक वर्षका लागि १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख बराबरको बजेट प्रस्तुत गरिएको थियो। कूल विनियोजनमध्ये चालूतर्फ आठ खर्ब ४५ अर्ब ४४ करोड ७५ लाख, पूँजीगततर्फ तीन खर्ब १३ अर्ब ९९ करोड ८२ लाख र वित्तीय व्यवस्थातर्फ एक खर्ब ५५ अर्ब ७१ करोड ७० लाख रुपैयाँ विनियोजन गरिएको थियो। बजेट भाषणको लागातार न्युज डटकमबाट प्रत्यक्ष प्रसारण हुँदैछ।


























