इलाम, ३१ वैशाख। आन्दोलनरत चिया श्रमिक र उद्योगीबीच नयाँ श्रम ऐन कार्यान्वयन गराउने सहमति भए पनि इलामका दुई बगानका श्रमिक भने अझै काममा फर्किन सकेका छैनन्। सांघाई ग्रुपले भाडामा लिएको चार बगानमध्ये इलाम सदरमुकामस्थित इलाम चिया बगान र सूर्योदय नगरपालिकास्थित कन्याम चिया बगानका श्रमिकसँग भने सांघाइले ‘सरकारले तोकेको न्यूनतम ज्याला दिन नसकिने’ बताएपछि श्रमिक काममा नफर्किएका हुन्।
ती बगानमा चियापत्ती बाँझिसकेका कारण नयाँ श्रम ऐन २०७४ अनुसार ज्याला दिन नसकिने सांघाइ ग्रुपका अध्यक्ष सुवास सांघाईले बताए। ‘मुख्य मौसमको चिया पूरै बाँझिसक्यो। अब हामीले चियाको ज्याला कसरी दिने?,’ उनले भने, ‘त्यसमा पनि श्रमिकले पूरा कामै गर्दैनन्, जम्मा छ घण्टा काम गर्नुपर्नेमा चार घण्टा मात्र काम गर्छन्। यही स्थितिमा पूरा ज्याला दिन सकिँदैन ।’
श्रमिकले पूरा काम गरेको खण्डमा भने पूरै ज्याला दिन सकिने सांघाइको भनाइ छ। यता चिया श्रमिक तथा नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघका अध्यक्ष रमेश खड्का भने श्रमिकले पूरा काम गर्नका लागि बगानको व्यवस्थापन दरिलो हुनुपर्ने बताउँछन्। ‘श्रमिकले नियमअनुसार नै काम गर्छन्,’ ‘तर, सांघाइ ग्रुपको व्यवस्थापन राम्रो हुनुपर्छ। व्यवस्थापन राम्रो नहुँदा त काम पूरा नहुन पनि सक्छ।’
सांघाई ग्रुपले भाडामा लिएको चार बगानमध्ये इलाम सदरमुकामस्थित इलाम चिया बगान र सूर्योदय नगरपालिकास्थित कन्याम चिया बगानका श्रमिकसँग भने सांघाइले ‘सरकारले तोकेको न्यूनतम ज्याला दिन नसकिने’ बताएपछि श्रमिक काममा नफर्किएका हुन्।
अन्य चिया बगानमा सहमति जुटेपछि यी बगानमा पनि सहमति हुने आश पलाएको अध्यक्ष खड्का बताउँछन्। ‘सरकारले समेत समन्वय गरिदिएकाले तत्काल सबै बगानमा ज्याला कार्यान्वयन नभए पनि विस्तारै समस्या सुल्झिने आशामा छौँ,’ खड्काले बताए। नयाँ श्रम ऐनअनुसारको ज्याला पाउनुपर्ने, श्रम ऐन २०७४ कार्यान्वयन हुनुपर्ने र श्रमिकको योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयन हुनुपर्ने माग राख्दै गएको चैत १७ देखि काम छाडेर आन्दोलनमा उत्रिएका थिए।
श्रमिकले नयाँ ऐनमा सुरक्षा योजनाअनुसार सात प्रतिशतको कोष निर्माण गर्नुपर्ने, श्रमिकलाई औषधि उपचारबापत २० हजार रुपैयाँ दिने, प्रसूति बिदा नयाँ ऐनअनुसार ४५ दिनबाट बढाएर ७० दिन बनाउने र लगातार काम गरेको १५ वर्षपछि पेन्सनको व्यवस्था गर्नुपर्ने नियम कार्यान्वयन गर्नुपर्ने चिया श्रमिकको भनाइ छ। सरकारले श्रम ऐनअनुसार गत साउन १ देखि लागू हुने गरी बगानमा काम गर्ने चिया श्रमिकको न्यूनतम् दैनिक ज्याला ३८५ रुपैयाँ तोके पनि श्रमिकले जम्मा २६५ देखि ३०० रुपैयाँसम्म मात्र पाउँदै आएका छन्।
उद्योगमा काम गर्ने श्रमिकलाई चाहिँ दैनिक ४२ रुपैयाँ थपेर ४२७ रुपैयाँ ज्याला तोकिएको छ। राजपत्रमा श्रमिकको न्यूनतम मासिक ज्याला छ हजार ४६९ र महंगी भत्ता चार हजार ३८१ रुपैयाँ तोकेको छ। तर, यो कुनै प्रावधान कार्यान्वयनमा आएको छैन। ज्याला मात्र नभई श्रम ऐन–२०७४, श्रम नियमावली–२०७५, सामाजिक सुरक्षा ऐनसमेत कार्यान्वयनमा ल्याउन मजदूरले माग गर्दै आएका छन्। -रासस