काठमाडौँ, ३१ बैशाख। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले पहाडी र मधेशी समुदायबीचको एकता, सद्भाव र भ्रातृत्वलाई केही अराजकहरुले खण्डित गर्ने खेलमा लागेको भन्दै जागरणका माध्यमबाट सचेतना प्रदान गर्नुपर्ने बताएका छन्। अनामनगरस्थित मण्डला नाटकघरमा मञ्चन भइरहेको नाटक ‘मिता आब कोना चलब’ अर्थात् (मितज्यू अब कता जाने) हेरेपछि मन्त्री पण्डितले नाटकमार्फत नेपाली समाजलाई एकताबद्ध बनाउन अभिप्रेरित गरेकोले सकारात्मक परिवर्तनको लागि जागरण नै चलाउनुपर्ने स्थिति आएको बताएका हुन्।
‘एउटा समय थियो, हाम्रो समाजका केही विषालुहरुले विष घोलेका थिए,’ मन्त्री पण्डितले भने, ‘अब त्यो विष विस्तारै समाप्त हुँदैछ, तर त्यसका छिटा अहिले पनि कहीँकतै देखिन्छ। अन्तिम सत्य के हो भने सामाजिक सद्भाव तथा राजनीतिक सद्भावको पनि खाँचो छ ।’ युवा कलाकार रामभजन कामतको लेखन तथा निर्देशनमा निर्मित उक्त नाटक मण्डला नाटकघरमा वैशाख २० गतेदेखि मञ्चन भइरहेको छ। जेठ ५ गतेसम्म मञ्चन हुने नाटकको प्रस्तुति विराट मैथिल नाट्य कला परिषद्को रहेको छ।
नाटकमा निर्देशक कामतसहित सुनिता घिमिरे, कौशिला कामत, मिलन नेपाली, विकास पराजुली, राजेश ठाकुर, भरत कार्की, सञ्जय गुप्ता, आदित्य मिश्रा, अमृता श्रेष्ठ, अमृत स्वाँर र शङ्कर पोखरेललगायतका कलाकारहरुले अभिनय गरेका छन्।
‘मिता आब कोना चलब’को कथासार
नेपाली र मैथिली भाषामा रहेको ‘मिता आब कोना चलब’ नाटकमा एक पहाडी र एक मधेशी मूलका व्यक्तिबीच भेट हुन्छ। त्यो भेटलाई उनीहरुले गहिरो मित्रतामा परिणत गर्छन्। एकले अर्कालाई चाडपर्वमा बोलाउने क्रमले मित्रता अझ प्रगाढ बन्दै जान्छ। नाटकको दोस्रो खण्डमा कथाले नयाँ मोड लिन्छ। ती दुई मितको सम्बन्धमा दरार पैदा हुन्छ। आपसी द्वन्द्व कसरी समाधान हुन्छ वा हुँदैन भन्ने प्रश्नको उत्तर खोज्न पनि नाटक ‘मिता आब कोना चलब’ हेर्नुपर्ने हुन्छ।
‘मिता आब कोना चलब’ले मधेश आन्दोलनपछिको तराईका नागरिकमा सिर्जित मनोविज्ञानलाई पनि प्रस्तुत गरेको निर्देशक कामतले बताए। नाटकमा सामान्य कृषिकर्म गर्ने मानिसको परिवारमा परेको असरलाई जीवन्त शैलीमा प्रस्तुत गरिएको छ। पहाडी खस र मिथिला संस्कृतिको संयोजनले नाटकलाई अन्तरआञ्चलिक विशेषता प्रदान गरेको छ। नाटकमा नेपाली र मैथिली दुवै भाषा प्रयोग गरिएको छ। -रासस