– विमलबहादुर विष्ट
डोटी, २४ वैशाख। डोटीको जोरायल गाउँपालिकाले आफ्नो गाउँपालिकाभरिमा रहेका सुनौला हजार दिनका आमालाई कुखुरा वितरण गर्न थालेको छ। गाउँपालिकामा सुनौला हजार दिनका १८० आमालाई प्रतिव्यक्ति पाँच कुखुराका दरले अस्तोलोप र हेम्पसार जातका कुखुरा वितरण गरिन थालिएको गाउँपालिका उपाध्यक्ष जमुना बोहराले बताइन्।
‘सुनौला हजार दिनका आमालाई सहयोग मिलोस् भनेर हामीले कुखुरा वितरण गर्न सुरु गरेका छौँ,’ उनले भनिन्, ‘आमालाई राम्रै सहयोग हुनेछ।’ गाउँपालिकाको बहुक्षेत्रीय पोषण कार्यक्रमअन्तर्गत छ वडाका सुनौला हजार दिनका आमालाई कुखुरा वितरण गरिएको उनले बताइन्। सुनौला हजार दिनका आमा र बच्चाको स्वास्थ्य तथा पोषणमा सुधार गर्ने उद्देश्यले अस्तोलोप र हेम्पसार जातका कुखुरा वितरण गरिन लागिएको निरौली स्वास्थ्य सेवा केन्द्र प्रमुख गोविन्द विष्टले जानकारी दिए। ‘गाउँपालिकामा भएका सुनौला हजार दिनका आमालाई कुखुराको अण्डा उत्पादन गरी स्वास्थ्य सुधार र कुपोषणको दर न्यूनीकरण हुने विश्वासमा कुखुरा वितरण कार्यक्रम सुरु गरिएको हो,’ उनले भने।
उक्त गाउँपालिकामा बहुक्षेत्रीय पोषणका साथै कुखुरा वितरण, कुखुराको दाना र खोर सुधारका लागि समेत बजेट छुट्याइएको पशु शाखा प्रमुख मानबहादुर रानाले जानकारी दिए। गाउँपालिकाले विद्यालयमासमेत हात धुने तरिका, बाल विकास केन्द्रमा पोषणबारे कक्षा सञ्चालन, स्वास्थ्य, सेनिटरी प्याड तथा कृषिअन्तर्गत सुनौला हजारका दिनका आमालाई मौसमी तरकारी र फलफूलका बिरुवा वितरण, खानेपानी तथा सरसफाइका क्षेत्रमा सरसफाइसम्बन्धी किट वितरणलगायतका काम सञ्चालन गराइरहेको गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाले बताए।
‘आमाको आयस्तर बढाउन र कुपोषणदर घटाउन हामीले विभिन्न काम गर्दै आएका छौँ,’ उनले भने, ‘हाम्रो अभियान सफल हुँदै आएको छ।’ गाउँपालिकामा भएका सुनौला हजार दिनका आमाले कुखुरा पाएपछि स्थानीय खुसी छन्। अन्य वस्तुभाउभन्दा कुखुरा पाल्न र हुर्काउन सजिलो हुने स्थानीय योगेन्द्र बोगटीले बताए।
यसअघि जिल्लाको दिपायल सिलगढी नगरपालिकाले पनि आफ्नो नगरपालिकामा रहेका सुनौला हजार दिनका आमालाई कुखुरा र अण्डा वितरण गरेको थियो। आफ्नो गाउँपालिकामा रहेका महिला तथा स्कूले छात्रालाई सेनेटरी प्याड वितरण गर्ने जोरायल गाउँपालिका जिल्लाकै पहिलो स्थानीय तह भएको गाउँपालिकाका उपाध्यक्ष बोहराको जिकिर छ। गाउँपालिकामा रहेका छात्रा सबैलाई सेनेटरी प्याड वितरण गरिएपछि महीनावारी भएको बेलामा स्कूल छुट्ने समस्या पनि समाधान हुने घण्टेश्वर बहुमुखी क्याम्पसका शिक्षक विजयप्रकाश मल्लले बताए।
त्यसैगरी स्वास्थ्य तथा पोषणको अवस्थामा सुधार ल्याउने उद्देश्यले गाउँपालिकाका सबै वडामा बहुक्षेत्रीय पोषण योजना सञ्चालन भइरहेको छ । गएको वर्ष वडा नं २ छतिवन, वडा नं ४ लक्ष्मीनगर र वडा नं ६ निरौलीमा सघनरूपमा उक्त कार्यक्रम लागू गरिएको र यस वर्ष वडा नं १ घण्टेश्वर, वडा नं ३ सरस्वतीनगर र वडा नं ५ गडसेरामा सघनरूपमा उक्त कार्यक्रम लागू गरिने बहुक्षेत्रीय पोषण योजनाका स्वयंसेवक मीना खत्रीले जानकारी दिइन्। सेवा प्रदायक संस्थाको विस्तार गरी सबैमा पोषण विशेष सेवाको उपभोगमा वृद्धि गराउने र पोषण संवेदनशील सेवाको पहुँच र उपभोग बढाई स्वस्थ बानीव्यवहारमा सुधार ल्याउने कार्यक्रमको उद्देश्य रहेको बताइएको छ ।