चितवन । वैज्ञानिक डा महावीर पुनको आत्मकथा ‘महावीर पुन सम्झना, सपना र अविरल यात्रा’ अबदेखि अडियो (आवाज)मा पनि पढ्न पाइने भएको छ। राष्ट्रिय आविष्कार केन्द्रमार्फत वीरगञ्जका कृषि औजार कारखाना सञ्चालन गर्ने लक्ष्यका साथ प्रकाशन गरेको पुस्तकको ‘अडियो बुक’ सोमबार मोमो एपमार्फत सार्वजनिक गरिएको हो। म्युजिक नेपालले लेखक डा पुनकै आवाजमा उक्त अडियो रेकर्ड गरेर बिक्री वितरणको लागि निःशुल्क सहयोग गरेको हो।
म्युजिक नेपालकै मोमो एपमार्फत अडियो बुक खरिदबाट सङ्कलन हुने सबै रकम सोझै महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रमा जाने एपमार्फत जानकारी गराएको छ। ‘यो कुनै साधारण कथा होइन, नेपाललाई जोड्ने एउटा मिशनको गाथा हो,’ मोमो एपले अडियो सार्वजनिक भएको जानकारी गराउँदै भनेको छ, ‘जसले असम्भव पहाडहरुमा सम्भावना देख्यो, दुर्गम क्षेत्रलाई दुनियाँसँग जोड्यो । तसर्थ यो एकजना व्यक्तिको कथा नभई लाखौँ नेपालीको साझा सपना हो।’
डा पुनले कृषि औजार कारखाना चलाउन सरकारले अनुमति दिए पनि आवश्यक बजेटको व्यवस्था नगरेपछि दुई दशकभन्दा लामो समयसम्म प्रयोगविहीन भएको कारखाना सञ्चालन गर्न आफ्नै कथा लेखेर बिक्रीका लागि देश दौडाहामा निस्किएका हुन्। २०८० असोजमा प्रकाशित उक्त पुस्तकको बिक्रीबाट करिब २० करोड रुपैयाँ सङ्कलन गर्ने लक्ष्यसहित डा पुनले पश्चिमका जिल्लाबाट सुरु गरेर हाल पूर्वका विभिन्न जिल्लामा आफैँ बिक्री गरिरहेका छन्। अहिले उनी किताब बोकेरै इलाम जिल्ला घुमिरहेका छन्।
२०७९ सालबाट कारखाना सञ्चालन गर्ने जिम्मा पाए पनि सञ्चालन गर्ने पैसा नपाएपछि छट्पटिएका डा महावीर पुनले तत्काल पुस्तक लेखेर आफैँ बेच्न सडकमा निस्किएका हुन्। करिब दुई वर्ष भयो अहिलेसम्म उनी पुस्तक बोकेरै किनिदिन आग्रह गरिरहेका छन्।
किताब बेचेरै कारखाना चलाउने लक्ष्य लिएका उनले करिब दुई वर्षको समयमा १४ प्रकारका घरायसी कृषि औजार बनाएका छन्। गत आर्थिक वर्षमा मात्रै कारखानाबाट उत्पादन भएका सामग्री बेचेर करिब करिब १६ देखि १७ लाख रूपैयाँ रकम सङ्कलन गरेको कारखानाका प्रमुख एवम् राष्ट्रिय आविष्कार केन्द्रका मेकानिकल इञ्जिनियर रितश देवले बताए।
३६ जना कर्मचारीले काम गरिरहेको कारखाना अहिलेसम्म डा पुनको पुस्तक बिक्रीकै पैसाले चलिरहेको उनले बताए। वि.सं.२०२४ साल फागुन २८ गतेदेखि सञ्चालनमा आएको कारखानाले सुरूवाती चरणमा अन्तर्राष्ट्रिय बजारमा समेत आफ्नो उत्पादनको बिक्री गर्दै आएको थियो। तर, व्यवस्थापकीय कमजोरीका कारण २०५९ सालपछि पूर्णरुपमा बन्द भएको कारखाना करिब दुई वर्षदेखि राष्ट्रिय आविष्कार केन्द्रले सञ्चालन गर्दै आएको छ।
कारखानाका प्रमुख देवका अनुसार कारखानामा रहेका पुराना मेसिनको मर्मतसम्भार गर्दा करिब ७० देखि ८० प्रतिशत मेसिन प्रयोगमा आएको छ, जसको माध्यमबाट घरायसी कृषि औजारको उत्पादन हुँदै आएको छ।


























