चितवन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसले पनि उम्मेदवारी दिने बताएका छन्। राजनैतिक सन्तुलन र स्थिरताको लागि पनि कांग्रेसले राष्ट्रपतिमा उमेदवारी दिने बताएका हुन्।
सोमबार नेपाल प्रेस युनियन चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतिनिधिसभा सदस्यसमेत रहेका नेता केसीले भने, ‘राष्ट्रपतिमा हाम्रो दाबी रहे पनि सरकारमा हामी जाँदैनौँ। किनकि राष्ट्रपति र सरकार फरक संस्था हुन्।’ कांग्रेसले प्रमुख प्रतिपक्षी दलको भूमिका पाइसकेको हुँदा सरकारमा जानु उचित नहुने उनले बताए।
पहिलो दल भएर पनि सरकार गुमाउनु र सरकार बाहिर रहेर पनि प्रधानमन्त्रीमा प्रचण्डलाई विश्वासको मत दिनु दुवै पार्टी नेतृत्वबाट गल्ती भएको भन्दै अब पनि सरकारमा जाने सपना देख्नु अर्को गम्भीर गल्ती हुने उनले बताए। ‘तर, राष्ट्रपति र सरकार फरक संस्था भएकोले राष्ट्रपति पाए पनि सरकारमा जाने भन्ने कुरा हुँदै हुँदैन,’ उनले भने, ‘कांग्रेस प्रमुख प्रतिपक्षी दल नै हो।’
तर, राष्ट्रपति पदमा कसलाई पठाउने भन्ने विषयमा पार्टीले निर्णय गर्न बाँकी रहेको उनको भनाइ छ। ‘कांग्रेसभित्र राष्ट्रपति बन्न धेरै नेता योग्य हुनुहुन्छ,’ उनले भने, ‘तर, पार्टीले निर्णय गरिसकेको छैन।’


























