चितवन । जिल्लाको इच्छाकामना गाउँपालिकाभित्रका विभिन्न आयोजनाको निर्माण ठेक्का लिएर पनि अलपत्र पार्ने तीन ठेकेदार कम्पनीलाई सरकारले कालोसूचीमा राखेर कारवाही गरेको छ। माधवबहादुर घिमिरे मुख्य व्यक्ति रहेको इच्छाकामना–४, कुरिनटारको श्री डिभी घिमिरे कन्ट्रक्सन, पुस्करप्रसाद गौतम मुख्य व्यक्ति रहेको भरतपुरको श्री अञ्जना निर्माण सेवा र प्रकाश कोइराला मुख्य व्यक्ति रहेको निलकण्ठ–८, धादिङको श्री जलेश्वर निर्माण सेवालाई एक वर्षको लागि कालोसूचीमा राखेको हो।
इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरूङका अनुसार डिभी घिमिरे कन्ट्रक्सनले कुरिनटारको सशस्त्र बेस क्याम्प जाने बाटो पिच गर्ने र मुग्लिन–तामिन सडक ढलान गर्ने जिम्मा लिएर अलपत्र छाडेको छ।
भरतपुरको अञ्जना निर्माण सेवाले इच्छाकामनाको वडा नं.७ मा पर्ने सिमलढापबाट पिपलटार जाने सडक पिच गर्ने जिम्मा लिएर अलपत्र पारेको गाउँपालिकाका अध्यक्ष गुरूङले जानकारी दिए। धादिङको डिभी जलेश्वर निर्माण सेवाले भने गाउँपालिकाको भवन कम्पाउण्ड निर्माण कार्य अलपत्र पारेको छ। गत असार मसान्तसम्ममा काम सकाउनुपर्ने भए पनि हालसम्म अलपत्र पारेकोले कारवाहीको लागि गाउँपालिकाबाट सिफारिस भएको अध्यक्ष गुरूङले जानकारी दिए।
काम गराउन पटकपटक ताकेता गर्दा पनि वास्ता नगरेपछि बाध्य भएर कारवाहीको लागि सार्वजनिक खरिद अनुगमन कार्यालयमा सिफारिस गर्नुपरेको उनको भनाइ छ। पालिकाभित्रका अन्य आयोजना पनि समयमा नसकाए ती ठेकेदार कम्पनी पनि कारवाहीको भागीदार हुनुपर्ने पालिकाले जनाएको छ।
सरकारले यसबाहेक पनि ९ वटा अन्य कम्पनीलाई समेत कारवाही गरेको छ। आइतबार सार्वजनिक गरेको सूचनाअनुसार चितवनको निर्माण कार्य अलपत्र पार्नेसहित १२ ठेकेदार कम्पनी कारवाहीमा परेका हुन्।


























