चितवन । गत वैशाखमा कुखुरामा बर्डफ्लु देखिएपछि पूर्वी चितवनको ज्यामीरेका व्यवसायी अर्जुन अर्यालको खोरमा रहेका कुखुरा, अण्डा, दाना, क्रेट र औषधि सबै नष्ट गरियो। विभिन्न उमेरका एक लाख १४ हजार ६८८ कुखुरा, एक लाख ३० हजार गोटा अण्डा, १३ हजार ५०० किलो दाना, ५२ हजार क्रेटसँगै औषधिलगायतका सामग्रीलाई सरकारी निकायबाट नष्ट गरिएको थियो।
सरकारले विगतमा झै राहत दिने आशामा अर्यालले केही महिना खोर खाली गरेर कुखुराका चल्ला राखे। उनको हिसाबमा सरकारले राहतवापत रु आठ करोड हाराहारी दिनुपर्ने हुन्छ। त्यहीअनुसार खोरमा उनले एक लाख २२ हजार कुखुरा राखे। केही ऋण बैंकले थप्यो। केही सरसापट चलाउँदै अघि बढे। अझैसम्म पनि राहत रकम नआएपछि बैंक र तिर्नुपर्ने ठाउँको दबाब थेग्न नसक्ने भएको छ। कुखुरा बचाउनका लागि हारगुहार गरेर ल्याइएका दाना, औषधिलगायतको रकम तिर्न सकेका छैनन्।
बर्डफ्लुका कारण सबैभन्दा बढी लेयर्सपालक कृषक प्रभावित बनेका छन्। नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्ष विनोद पोख्रेल सरकारले तत्काल राहत नदिए ती कृषकहरू विस्थापित हुने अवस्थामा पुगेको बताउँछन्। उनका अनुसार बैंकको ऋण तिर्न नसक्दा कयौँ कृषकको खोर खाली छ। खोरमा कुखुरा राखेकाहरूले पनि बचाउन नसक्ने अवस्थामा पुगेको उनको भनाइ छ। बर्डफ्लुबाट धेरै लेयर्स कुखुरापालक कृषक प्रभावित भएको जनाउँदै उनले यो व्यवसाय बचाउनका लागि तत्काल सरकारको ध्यान जानुपर्ने बताए।
पोल्ट्री व्यवसायी मञ्चका अध्यक्ष राजेन्द्र लामिछानेले सरकारले नहेरे आउँदो वैशाखपछि व्यवसाय नै धराप भएर जाने बताए। नेपालमा अब कुखुरापालन व्यवसाय आत्मनिर्भर हुन नसक्ने अवस्थामा पुगेको उनी बताउँछन्। भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भरतपुरले गत साउन २६ गते क्षतिको विवरण पशु सेवा विभागमा पठाएको भए पनि पीडित कृषकले अहिलेसम्म राहत पाउन नसकेका हुन्।
कार्यालयका अनुसार विसं २०७८ कात्तिक १२ गतेदेखि २०७९ असार ७ गतेसम्म जिल्लामा बर्डफ्लुको सङ्क्रमण देखिएको थियो। बर्डफ्लुका कारण ४७ कृषकले पालेका पक्षी नष्ट गरिएको थियो। यसका कारण तीन लाख ७२ हजार ६१२ पक्षी नष्ट गरिएको हो। बर्डफ्लुका कारण सबैभन्दा धेरै लेयर्स कुखुरा प्रभावित भएको कार्यालयका सूचना अधिकारी डा प्रभात न्यौपानेले जानकारी दिए। उनका अनुसार विभिन्न उमेर समूहका लेयर्स कुखुरा तीन लाख ५८ हजार १११ नष्ट गरिएको थियो।
यस्तै प्यारेन्ट १२ हजार ३३, कडकनाथ ८९६, ब्रोइलर ८९६, टर्की ५०० वटा नष्ट गरिएको थियो। लोकल कुखुरा १३२, हाँस ३६, बट्टाई आठवटा नष्ट गरिएको न्यौपानेले जानकारी दिए। सोही क्रममा लेयर्स कुखुराको अण्डा पाँच लाख ५० हजार ७९१, प्यारेन्ट अण्डा एक लाख ७८ हजार ५६४, क्रेट एक लाख २८ हजार ९२० वटा नष्ट गरिएको थियो।
दाना ९४ हजार ७२८ किलो, टर्कीको अण्डा छ हजार ३००, हाँसको अण्डा २०, अण्डा राख्ने कार्टुन दुई हजार ५००, डाला ६६० वटा, टर्कीको मासु १२० किलो र कुखुराको मासु ४० किलो नष्ट गरिएको न्यौपानेले जानकारी दिए। बर्डफ्लुका कारण चितवनमा मात्रै रु ४५ करोड हाराहारीको क्षति भएको अनुमान गरी विभागमा सिफारिस गरिएको कार्यालयले जनाएको छ।
पशु सेवा विभागकी महानिर्देशक डा सम्झनाकुमारी काफ्ले पाण्डेले आफूहरूले अर्थमन्त्रालयमा बजेट सुनिश्चितताका लागि पठाइएको दाबी गरिन्। सरकार फेरबदलका कारण केही ढिलाइ भएको उनी बताउँछिन्। देशभरका १५ जिल्लामा बर्डफ्लुको समस्या देखिएको बताउँदै उनले कृषकलाई क्षतिको ७५ प्रतिशत राहत दिने व्यवस्था भएको उनले बताइन्। यसका लागि अर्थ मन्त्रालयले रु ५८ करोड बढीको रकमका लागि सुनिश्चित गर्नुपर्ने भएकाले केही ढिला भएको उनको भनाइ छ। – RSS


























