काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। अघिल्लो दिनको तुलनामा प्रतितोला रू एक हजारले बढेर सुनको मूल्यमा रू एक लाख छ हजार तीन सय कायम नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मनिकरत्न शाक्यले जानकारी दिए।
यसअघि २०७८ साल फागुन २५ मा सुनको मूल्य सबैभन्दा बढी प्रतितोला रू एक लाख पाँच हजार पाँच पुगेको थियो। सोमबार छापावाल सुन प्रतितोला रू एक लाख पाँच हजार तीन सयमा कारोबार भएको थियो। महासंघका अनुसार मंगलबार तेजाबी सुनको मूल्य प्रतितोला रू एक लाख पाँच हजार आठ सय कायम भएको छ। यसको मूल्य अघिल्लो दिन रू एक लाख चार हजार आठ सय थियो।
त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रू १५ ले घटेर रू एक हजार तीन सय ६५ कायम भएको छ। महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ।
महासंघ अध्यक्ष शाक्यले रुस र युक्रेनबीचको युद्ध तथा विभिन्न देशका केन्द्रीय बैंकहरुले सुन मौज्दात बढाउन थालेपछि सुनको मूल्य बढेको बताए। महासंघले हाल दैनिक ३० देखि ३५ केजी सुन पाउनुपर्ने माग गर्दै आएको छ। अध्यक्ष शाक्यका अनुसार हाल दैनिक १० केजी सुन मात्रै दिइएको छ, जुन पर्याप्त छैन। अहिलेको अवस्था हेर्दा दिनमा कम्तीमा पनि ३० देखि ३५ केजी सुन आवश्यक पर्छ। रासस


























