चितवन, २४ पुस । यही पुस २५ गतेदेखि सञ्चालन हुने चितवन महोत्सवको तयारी पूरा भएको छ। नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा १४औँ संस्करणको ‘चितवन महोत्सव–२०७९’ हुँदैछ। माघ ४ गतेसम्म चल्ने महोत्सवस्थलमा प्रदर्शनी कक्ष निर्माण, महोत्सवको मूलगेट निर्माण र सचिवालयलगायतका संरचना निर्माणको काम सकिएको महोत्सव मूल आयोजक समितिका संयोजक एवं उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले जानकारी दिए।
विसं २०५३ सालदेखि हरेक दुई वर्षमा हुँदै आएको महोत्सवमा रहने सम्पूर्ण कक्ष बिक्री भइसकेको अध्यक्ष श्रेष्ठले जानकारी दिए। यसपटकको महोत्सवमा कृषि, अटो, मेड इन नेपाल, इलेक्ट्रोनिक र आइटीका छुट्टैछुट्टै परिसर रहने आयोजकले जनाएको छ। विशेषगरी चितवनको आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरण गर्नका लागि यसपटक तोरी र मौरीलाई प्रवर्द्धन गर्नेगरी तोरीबारीसहित मौरीको मस्कट महोत्सवभित्र राखिएको छ।

महोत्सवमा बगैँचा, कृषि परिसर, पोल्ट्री परिसर, बाल उद्यान, गार्मेन्ट सामग्रीसहितका कक्ष छन्। नेपालमा उत्पादन भएका सामग्रीलाई प्राथमिकताका साथ राखेर तिनीहरुको प्रवर्द्धन र विकासमा १४औँ संस्करणको चितवन महोत्सव अगाडि बढेको अध्यक्ष श्रेष्ठले बताए। दश दिनसम्म चल्ने महोत्सवमा खेलकुद, जलयात्रा, स्वास्थ्य सेवा, आदिवासी जनजातिको भेषभूषा र कला संस्कृति झल्किने मनोरञ्जनात्मक कार्यक्रम, कृषिउपज प्रदर्शनी र बाल उद्यानसमेत राखिएका छन्।
महोत्सव प्रवर्द्धन समिति संयोजक राजेन्द्र ओलीका अनुसार महोत्सवको उद्घाटन गर्न सोमबार बिहान ८ बजे अर्थमन्त्री विष्णु पौडेल चितवन आउँदैछन्। त्यसैगरी महोत्सवअन्तर्गत नै पुस २८ देखि माघ २ गतेसम्म नारायणगढको क्याम्पाचौरमा फुड फेस्टिभलको आयोजना गरिएको छ। ओलीका अनुसार चितवनको कृषि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत जिल्लाको सामाजिक आर्थिक विकासका सम्भावनामा केन्द्रित रही पुस २९ देखि माघ ३ गतेसम्म विज्ञहरुको उपस्थितिमा दैनिक राष्ट्रिय स्तरका सेमिनार तथा गोष्ठीहरु सञ्चालन गरिनेछ।
महोत्सव अवलोकनका लागि सर्वसाधारणलाई रु ६० तथा विद्यार्थीलाई रु ३० को टिकटको व्यवस्था गरिएको छ। महोत्सवमा पाँच लाखले अवलोकन गर्ने तथा रु २५ करोड बराबरको आर्थिक कारोबार हुने आयोजकले अपेक्षा गरेको छ।
Facebook Comments



























