चितवन । अण्डा, मासु, चल्ला र दानामा आत्मनिर्भर पोल्ट्री व्यवसाय चरम समस्यामा परेको छ। दानाको कच्चा पदार्थमा भएको मूल्यवृद्धि, उच्च ब्याजदर, लागतअनुसारको बजार मूल्य नपाउँदा, भारतीय उत्पादन निर्वाधरूपमा प्रवेश पाउँदा व्यवसाय समस्यामा परेको हो। नेपालमा पोल्ट्री व्यवसायमा एक खर्ब ५० अर्बभन्दा बढी लगानी भइसकेको छ। सो मध्ये आधाभन्दा बढी बैंकको ऋण छ।
लागत मूल्यमा उत्पादित वस्तु बिक्री गर्न नसकेपछि झण्डै दुई वर्षयता व्यवसायीले एकोहोरो नोक्सान व्यहोर्दै आएका छन्। नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्टले कुखुराजन्य उत्पादन सबैमा व्यवसायी नोक्सानमा रहेको जानकारी दिए। दैनिक घाटा व्यहोरिरहेको, बैंकले थप लगानी नगरेको, जग्गा बिक्री नभएको र खोरमा राखिएका कुखुरा बचाउनसमेत मुस्किल परेको गुनासो गरे।
नेपालमा २३ वर्षदेखि पोल्ट्री व्यवसाय आत्मनिर्भर भएको जनाउँदै उनले विकसित मुलुकमा पनि सबै कुरामा आत्मनिर्भर नहुने बताए। उनले भने, ‘हाम्रो समस्या सुन्ने र बुझ्ने कोही भएनन्।’ विष्टले भने, ‘चल्ला उत्पादनको लागत ६० पर्छ। अहिले हामीले बढीमा २५ मा बिक्री गर्दै आएका छौँ।’
महासंघका उपाध्यक्ष एवं ह्याचरी उद्योग संघका पूर्व केन्द्रीय अध्यक्ष टीकाराम पोखरेलका अनुसार ब्रोइलर र लेयर्सको चल्ला उत्पादन गर्ने माउ (प्यारेन्ट) अधिकांश विदेशबाट आउने गर्दछ। कोभिडपूर्व मासिक एक लाख ५० हजार हाराहारी प्यारेन्ट नेपाल आउने गरेकामा गएको वैशाखयताको सरदर मासिक ६० हजारमात्रै आउने गरेको उनले जानकारी दिए। प्यारेन्टबाट उत्पादित चल्लासमेत सबै बिक्री हुन नसकेको उनको भनाइ छ।
भारत सरकारले कुखुरापालनमा जग्गा खरिददेखि सबै कार्यमा अनुदान दिने हुँदा सस्तोमा कुखुराजन्य उत्पादन हुने गर्दछ। भारतमा लागत कम हुने हुँदा नेपाली उत्पादनले प्रतिस्पर्धा गर्न नसक्ने उनको भनाइ छ। नेपालमा दुई हजार ५०० लेयर्स (अण्डा उत्पादन गर्ने) फार्म रहेकामा ७० प्रतिशत हाराहारी बन्द भइसकेका छन्। ३० हजारभन्दा बढी लेयर्स कुखुरा पाल्ने फार्मको सङ्ख्या ५० हाराहारी छ। यसले ७५ प्रतिशत अण्डा उत्पादन गर्दछ।
संघका अध्यक्ष विनोद पोखरेलले अवस्था सुधार नभएमा आगामी वर्षसम्म पुग्न पनि नसकिने बताए। उनले भने, ‘साना व्यवसाय धेरै बन्द भइसके, ठूला व्यवसायी पनि आगामी वर्षसम्म यस्तै अवस्था रहे बन्द हुन्छन्।’ सरकारी तवरबाट नहेरिएको गुनासो गर्दै बर्डफ्लुका कारण मारिएको कुखुराको क्षतिपूर्ति १० महिना पुग्दासमेत नपाएको गुनासो गरे। उनले थपे, ‘कमसेकम क्षतिपूर्ति पाए ५० हजार कुखुरा मरेकाले २५ हजार त पाल्न पाउँथे।’
दुई वर्षअघि प्रतिक्रेट (३० वटा) अण्डा ४०५ रुपैयाँमा बिक्री हुँदा दानाको मूल्य ४५ थियो। उनले भने, ‘अहिले दानाको मूल्य ७० पुग्यो, हामीले अण्डा केही दिन अघिसम्म दुई सय २५ मा पनि बिक्री गर्यौँ।’ उनले भने, ‘अहिले पनि हामी प्रतिक्रेट १०० रुपैयाँ घाटामा अण्डा बिक्री गरिरहेका छौँ।’ नेपालमा दैनिक अण्डा उत्पादन ४० लाख वटा हाराहारी छ।
पोल्ट्री व्यवसायी मञ्चका अध्यक्ष राजेन्द्र लामिछाने सात प्रतिशतमा बैंकबाट लिएको ऋण १५ प्रतिशत पुगेको भन्दै अब तालाचाबी बैंकलाई बुझाउनुको विकल्प नभएको बताउँछन्। पाँच वर्षअघि प्रतिकिलो ३० मा किन्ने दाना अहिले ७० पुगेको भन्दै दानाको मूल्य दोब्बर हुने, उत्पादन सस्तोमा बिक्री गर्नुपर्दा कति दिन व्यवसायी टिक्छन्? उनले प्रश्न गरे।
नेपालमा दानाका लागि आवश्यक पर्ने अधिकांश कच्चा पदार्थ र औषधि विदेशबाट आउने गर्दछ। देशभरमा एक सय २० वटा दाना उद्योग छन्। पछिल्लो समय कच्चा पदार्थको मूल्य अत्यधिक बढेसँगै दानाको मूल्य बढेको लामिछानेको भनाइ छ।
सरकारले सम्बोधन गरेमा लागत मूल्य घट्ने उनको भनाइ छ। चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिका कारण पोल्ट्री व्यवसाय बन्द गर्ने अवस्थामा पुगेको बताउँछन्। उनले भने, ‘बैंकले ऋण थप्दैन, खोरका कुखुरा दाना नपाएर मर्ने अवस्थामा छन्।’ खोरका कुखुरा गनेर १० करोड रहेको हिसाब गरेर सुतेको व्यक्ति बिहान उठ्ता मरेका कुखुरा पुर्नका लागि ऋण खोज्ने अवस्थामा पुग्ने अवस्था आउने भन्दै उनले जोखिम मोलेर व्यवसाय गरे पनि सरकारको ध्यान पुग्न नसकेको गुनासो गरे।
बागमती प्रदेशको कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा शरणकुमार पाण्डेले प्रदेश सरकारले पोल्ट्री बोर्ड नै गठन गरेर सम्बोधन गर्ने तयारी गरेको जानकारी दिए। बोर्ड गठनका लागि अध्यादेश ल्याएर प्रदेश प्रमुखसम्म पुगेको तर प्रमाणीकरण नभएको उनले जानकारी दिए।
सरकारले छिट्टै कृषक परिचयपत्र वितरण गर्ने जनाउँदै उनले भने, ‘निर्वाहमुखी, अर्धव्यवसायी र व्यवसायी गरी तीन प्रकारका परिचयपत्र वितरण गर्दछौँ।’ मानव स्वास्थ्यका लागि अण्डा र मासु महत्वपूर्ण भएको भन्दै उनले खपत बढाउने काममा लाग्ने बताए। सचिव पाण्डेले भने, ‘एक जना व्यक्तिले वार्षिक एक सय अण्डा खाने गरी अभियान सञ्चालन गर्नुपर्छ।’


























