चितवन, १५ जेठ। केही दिनअघि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चितवनमा बन्न लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगाशालाको स्थलगत निरीक्षण गरे। ‘धुर्मुस–सुन्तली फाउण्डेशन’को पहलमा निर्माणाधीन रंगाशालाको प्रारम्भिक चरणको काम देखेर उनले खुसी व्यक्त गरे। निर्माणअवधिभर आवश्यक पर्ने विद्युतको प्रबन्ध मिलाउने बचन दिएर उनी राजधानी फर्किए। घिसिङबाट सकारात्मक प्रतिक्रिया पाएपछि फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ पनि खुसी भए।
तर, बुधबार एकाएक धुर्मुसको आँखाबाट आँसुका थोपा बर्सिन पुगे। बुधबार बिहान आफ्नै आँखा अगाडि केही अराजक समूहले डोजर लगाएर रंगाशालाको लागि लगाइएको जस्ताको बार भत्काइदिए। करिब डेढसय जना उर्लिएर आएपछि टुलुटुलु हेरेर बस्नु शिःवाय धुर्मुसको केही जोड चलेन। जानकारीमा आएअनुसार नेकपाका स्थानीय नेताको अगुवाईमा रंगाशाला मैदानमा डोजर चलेको हो। बिहानै रंगाशालामा डोजर चलाइएपछि धुर्मुसले भावविह्वल हुँदै दिएको प्रतिक्रियाको भिडियो एकाएक भाइरल भएको छ। उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि अहिले चर्को विरोध भइरहेको छ।
देशकै गौरवको विषयमाथि कुदृष्टि लगाउनेलाई कारवाही गर्नुपर्छ भन्दै सामाजिक अभियान्त, पत्रकार तथा खेलप्रेमीहरूले विरोध गरेका हुन्। सोही क्रममा पत्रकार विनोद त्रिपाठीले प्रचण्डको निर्वाचन क्षेत्रमा काम गर्न सजिलो नभएको भन्दै प्रचण्डप्रति नै तीखो व्यङ्ग्य गरेर आफ्नो फेसबुकमा लामो स्टाटस लेखेका छन्।
किनकि, त्यो जिल्ला पुष्पकमल दाहालको हो, जस्ले १७ हजार मान्छे मर्ने र मार्ने काम गरेका थिए।
व्यक्तिगत रुपमा नचिनिए पनि सीताराम कट्टेलको कलाकारिता र समाजसेवाको योगदानलाई राम्रोसँग चिनेको भन्दै पत्रकार त्रिपाठीले आपराधिक मानसिकता भएका मान्छे आकारका जनावरले डोजर चलाएको भन्दै किन यस्तो अवस्था आयो भनेर कारण समेत खुलाएका छन्। जनयुद्धकालमा १७ हजार मान्छे मार्ने व्यक्तिको जिल्लामा काम गर्नु एकदमै चुनौतीपूर्ण रहेको उनले स्टाटसमा लेखेका छन्। पत्रकार त्रिपाठीले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा बुँदागत यसरी व्यक्त गरेका छन्ः
१, तपाईले पुष्पकमल दाहालको जिल्लामा अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउन लाग्नुभएको छ। तपाईंको मन निष्कलंक छ, यसमा दुइमत छैन। तर, यो आँफैमा ठूलो जोखिमस्थानमा तपाईँले यो कामको सुरूवात गर्नुभएको छ। किनकी त्यो जिल्ला पुष्पकमल दाहालको हो। जस्ले १७ हजार मान्छे मर्ने र मार्ने काम गरेका थिए।
२, चितवन त्यही स्थान हो, जहाँ बसभित्रै मानिसलाई जिउँदै (२००५, जुन–६ मा । ७२ जनाको मृत्यु) पोलिन्छ। किनकि त्यो जिल्ला पुष्पकमल दाहालको हो। जस्ले १७ हजार मान्छे मर्ने र मार्ने काम गरेका थिए।
३, विश्वमा कम्युनिष्टले कहिल्यै विकास निर्माण गर्दैनन्। भएका विकास पनि भत्काउँछन्। चीनबाहेक विश्वका चार दर्जन बढी मुलुक यसका उदाहरण छन्। (कम्युनिष्ट शासनले समृद्धि बनाएको कुनै देशको उदाहरण दिनुभए त्यो देशको इतिहास पढ्नेछु) फेरि तपाईं त नेपालकै जोखिम जिल्लामा अन्तर्राष्ट्रिय रंगशाला बनाउन गइरहनु भएको छ। किनकि त्यो जिल्ला पुष्पकमल दाहालको हो। जस्ले १७ हजार मान्छे मर्ने र मार्ने काम गरेका थिए।
४, तपाईंले जुन स्थानमा रंगशाला बनाउन थाल्नु भएको छ, त्यहाँ रामपुर कृषि क्याम्पस तथा कृषि विश्वविद्यालय छ। यो कलेज त्यही हो, जहाँ हरेक वर्ष कम्युनिष्ट आतंकले पढाई त के निर्धक्क बस्ने वातावरण नै छैन। यस्तो जोखिमस्थानमा तपाईँले रंगशाला बनाउन खोज्नु आँफैमा महाजोखिम थियो। किनकि त्यो जिल्ला पुष्पकमल दाहालको हो। जस्ले १७ हजार मान्छे मर्ने र मार्ने काम गरेका थिए।
५, सीताराम जी, तपाईँलाई थाहा भयो होला, डोजर लगाएर भत्काउनेहरू कम्युनिष्टकै कार्यकर्ता थिए। अहिले केही पक्राउ परे पनि प्रहरीलाई कम्युनिष्ट नेताहरूको दबाबले अपराधीलाई कारवाही गर्न कत्रो सकस परिरहेको छ। आजै जिल्ला प्रहरी कार्यालय चितवनले डोजर लगाएर भत्काउने काममा संलग्न केहीलाई समाते पनि मुख्य अभियुक्तहरू आजै मुक्त भएको सार्वजनिक गरिसकेको छ। तर, दुःखको कुरा भन्नुपर्छ, भर्खरै मात्र पुष्पकमल दाहाल निकटका एक प्रहरी प्रमुख चितवन सरूवा भएका छन्। अब चितवनको शान्ति सुरक्षा कस्तो होला तपाई आफैँ अनुमान गर्नुहोस्। तपाईँले त्यो जोखिम क्षेत्रमा रंगशाला बनाउन खोज्नु अदम्य साहस हो। किनकि, त्यो जिल्ला पुष्पकमल दाहालको हो। जस्ले १७ हजार मान्छे मर्ने र मार्ने काम गरेका थिए।

सोही घटनालाई लिएर सागर गौतमले आफ्नो फेसबुकमार्फत रंगाशालामा रँडाको मच्चाउनेलाई घुमाउरो शैलीमा बधाई दिएका छन्। उनले यो घटना देखेर चितवनवासी भएकोप्रति दुःख व्यक्त लागेको बताएका छन्। ‘के देख्दै छु म। चितवनवासी भएर गर्व लाग्थ्यो, अब केही हुन्छ भनेर। आज यस्तो भिडियो बाहिरिँदा निकै मन स्तब्ध तुल्याएको छ। पश्चिम चितवन रामपुरमा बन्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा यस्तो रडाँको मच्चाउने महान चितवनवासीलाई धेरै धेरै बधाई। निकै राम्रो काम गर्नु भएछ। अब ढुक्क हुनुहोस्। अब चितवन नेपालकै तल्लोस्तरमा गनिने जिल्लामा पक्कै पर्नेछ। ४ करोड नेपाली जनता लाई रूवायौ।’
सामाजिक अभियान्ता भोजनारायण कँडेलले भने दोषीको पत्ता लगाई हदैसम्मको कारवाही गर्न सरकारसँग माग गरेका छन्। अराजक समूहले भत्काइएको संरचना निर्माणमा हातेमालो गरेर सहयोग गर्नसमेत उनले आग्रह गरेका छन्। ‘देशविदेशमा बस्ने नेपालीहरूको रगत र पसिनामाथि खेलवाड गरेर केही व्यक्तिको निहीत स्वार्थले गर्दा आज चितवनवासी लज्जित हुनु परेको छ,’ उनले भनेका छन्, ‘नेपालको गौरव निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामाथि नियोजित आक्रमण भएको छ।’ उक्त घटनाप्रति घोर भत्र्सना गर्दै दोषीउपर कडा कारवाहीको मागसमेत गरेका छन्। ‘जल, जंगल र जमिन राज्यको हो, यदि कोही अन्यायमा परेको भए पनि यति गिरेर घृणित कार्य गर्नु पर्ने थिएन,’ उनले भने ‘समाधानका बाटाहरू प्रसस्त हुँदाहुँदै पनि नियोजित तरिकाले यस्तो काम गर्नुपर्ने थिएन।’ समग्र देशकै गौरव भएकोले भत्काइएको संरचना पुनर्निमाको लागि अभियान नै चलाउन पनि उनले आग्रह गरे।

नागरिकको पसिनामाथि डोजर चलाएको भन्दै फाउण्डेशनका अध्यक्ष धुर्मुसले पनि दोषीमाथि कारवाही हुनुपर्ने माग गरेका छन्। नागरिककै तर्फबाट विकास गरौँ भनेर लागिरहँदा सामान्य बाटोको विषयलाई लिएर संरचना नै भत्काउने काममा लाग्नु निन्दनीय काम भएको उनले बताए। बाटो दिने नै सल्लाह हुँदाहुँदै पनि राजनैतिक आडमा बसेर कमिसन माग्ने, कर्मचारीलाई धम्क्याउने, निर्माण सामाग्री आफ्नैबाट ल्याउनुपर्ने दबाब दिनेलगायतका काम गरेर धेरै दुःख दिने गरेको उनको भनाइ छ। ‘यति ठूलो दबाबलाई पनि हामीले सहेर बस्यौँ,’ उनले भने, ‘तर, हामीले आफ्नो घर, परिवार, समाज सबै त्यागेर देश विकासको काम गरौँ भनेर लाग्दा एकाबिहानै आएर डोजर लगाएर बार भत्काइएको छ। यो अत्यन्तै दुःखद छ।’
बाटो नै सुचारु नभएको ठाउँमा बाटो मागेर दुःख दिने काम गरिरहेको उनले बताए। ‘यही विषयमा छलफल गर्दागर्दै साढे चार महिना बित्यो,’ उनले भने, ‘रंगाशालाकै लागि पनि बाटो चाहिन्छ भनेर हामीले भनेकै छौँ। डीपीआर आइसकेपछि कति छोड्नुपर्छ महानगरपालिकासँग छलफल गरौँला भन्दाभन्दै पनि आज डोजर चलाइयो। आफ्नै आँखा अगाडि कारुणिक दृश्य हेर्नुपर्दा असाध्यै मन दुखेको छ।’ नेपाली खेलाडी भनेको हाम्रै सन्तान हुन् भनेर उनीहरुकै लागि विकास गरौँ भनेर लाग्दा अहिले सर्वसाधारण नागरिकको पसिनामाथि डोजर चलाएर प्रहार गरेको उनले बताए। बाटोको बहाना बनाएर सुनियोजित तरिकाले संरचना भत्काइएको उनको भनाइ छ। स्थानीयका अनुसार प्रकाश कँडेलको नेतृत्वमा आएका टोलीले डोजर लगाएको हो।
चितवन प्रहरीले भने घटनामा संलग्नको खोजी भइरहेको जनाएको छ। बुधबार दिउँसो १६ जना पक्राउ गरे पनि मुख्य व्यक्ति भने फरार रहेको चितवन प्रहरी प्रवक्ता दुर्गा रेग्मीले बताए। क्रिकेट रंगाशालास्थल नेकपाका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको गृहनगर तथा निर्वाचन क्षेत्र हो भने उनकै छोरी रेनु दाहाल भरतपुर महानगरपालिकाको मेयर हुन्।