चितवन । भरतपुर महानगर प्रज्ञा–प्रतिष्ठानले ८७औँ भूपि जयन्तीको अवसरमा आयोजना गरेको देशव्यापी खुला कविता प्रतियोगितामा यज्ञप्रसाद न्यौपानेको कविता ‘असहमतिको दस्तावेज’ सर्वोत्कृष्ट ठहरिएको छ। देशका ४० जिल्लाबाट ११५ जना कविहरुमध्येबाट छनौटमा परेका १५ जनामध्येमा पनि कवि न्यौपानेको कविताले सर्वोत्कृष्ट हुँदै नगद ४० हजार ७८ रुपैयाँ पुरस्कार प्राप्त गरेको हो।
सुजन थपालियाको ‘आमा’ कविताले उत्कृष्ट स्थान जमाउँदै नगद ३० हजार ७८ रुपैयाँ पुरस्कार जितेको छ। राधिका कल्पितको ‘पेन्सन’ले उत्तम स्थान हासिल गर्दै नगद २० हजार ७८ रुपैयाँ पुरस्कार पाएको छ।
![]()
![]()

यस्तै जनक कार्कीको ‘चिहान खनिरहेको मान्छे’ र नारायणी अधिकारीको ‘दुर्गा भवानी उठ’ शीर्षकको कविताले भने प्रोत्साहन पुरस्कार जितेको छ। दुवै कविताले नगद १० हजार ७८ रुपैयाँका दरले पुरस्कार प्राप्त गरेको प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव बालकृष्ण थपलियाले जानकारी दिए।

शनिबार भरतपुर महानगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा प्रतिष्ठानकी कुलपतिसमेत रहेकी महानगर प्रमुख रेनु दाहालले प्रमाणपत्रसहित पुरस्कार प्रदान गरेकी हुन्। पुरस्कार प्रदान गरिसकेपछि मेयर दाहालले भाषा, कला, साहित्य र संस्कृतिको संरक्षणका लागि महानगरले कदम चालेको बताइन्।

कला, साहित्यको क्षेत्रमा कमल चलाउनेहरुलाई सानो भए पनि आर्थिक सहयोग प्रदान गरेर देशको ६ वटा महानगरपालिकामध्ये भरतपुरले नयाँ कामको थालनी गरेको उनले दाबी गरिन्। कार्यक्रममा छनौट भएका १५ मध्ये १३ जना कवि उपस्थित भएका थिए। उनीहरुले आ-आफ्नो सिर्जना प्रस्तुत गरेका थिए।

कार्यक्रममा प्रतिष्ठानका उपकुलपति ईन्द्रप्रसाद रेग्मी, महानगर शिक्षा महाशाखा प्रमुख महेन्द्रप्रसाद पौडेल, अग्रज कवि गोविन्दराज विनोदी, साहित्यकार भूपिन खड्कालगायतले मन्तव्य राखेका दिए।



























