चितवन । चितवनका तमू समुदायले धुमधामका साथ सांस्कृतिक कार्यक्रम गरेर तमू ल्होसार मनाएका छन्। तमू समुदाय भएका स्थानहरूमा विशेष कार्यक्रमसहित ल्होसार मनाएका हुन्। ठूलाबडाबाट आशिर्वाद ग्रहण गर्ने, मीठा परिकार खाने र शुभकामना साटासाट गरेर ल्होसार मनाइएको हो।
विशेष गरी तमू समुदायको साझा संस्था तमू ह्युल छोँज धीँ र तमू प्ये ल्हु संघले आफ्नो इकाइदेखि केन्द्रसम्मका समितिमार्फत ल्होसार मनाएका छन्। पुस १५ को दिनमा तमू ह्युल छोँज धीँ चितवनले महाबौद्ध गुम्बा तीनखोलेमा भव्य कार्यक्रम गरेर ल्होसार मनाएको छ। तमू विद्यार्थी छोँज धीँ चितवनको संयोजकत्वमा वृहत सांस्कृतिक कार्यक्रमसहित ल्होसार मनाइएको तमू ह्युल छोँज धीँ चितवनकी अध्यक्ष विमलादेवी गुरूङले जानकारी दिइन्।
कार्यक्रममा जिल्लाभरका विभिन्न टोल तथा इकाइ समितिको समेत उपस्थिति थियो। पुस १४ गते भएको रात्रिकालीन सांस्कृतिक कार्यक्रममा भने राष्ट्रियस्तरका ख्यातिप्राप्त कलाकारहरूले समेत प्रस्तुति दिएका थिए। कलाकारहरू शितल गुरूङ, चिजा तामाङ, तिलक गुरूङ, सविन गुरूङ, सूचना गुरूङ, निर्जला गुरूङलगायतका कलाकारहरूले आफ्नो प्रस्तुति दिएका थिए।

शुक्रबार तमू ह्युल छोँज धीँ चितवनले विभिन्न प्रतियोगितात्मक कार्यक्रममा बिजयी हुन सफल व्यक्तिहरुलाई पुरस्कृत गर्नुका साथै विभिन्न विधामा सम्मानसमेत गरेको थियो। साथै आर्थिक सहयोग गर्ने व्यक्ति तथा संघसंस्थालाई समेत सम्मान गरेको थियो।
यसवर्ष तमू समुदायले बाघ वर्ग (तोल्हो)लाई बिदाइ गर्दै बिरालो वर्ग (हिल्हो)लाई स्वागत गरेर ल्होसार मनाएको हो। वर्गचक्रअनुसार बिरालो वर्ग १२ वर्षपछि आइपुगेको हो। १२ वटा जीवजन्तुको ल्होकोरको आधारमा यसवर्ष बिरालो वर्गलाई स्वागत गरिएको हो।


























