चितवन । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले इच्छा शक्तिले मात्र विकास सम्भव नहुने बताएको छन्। शुक्रबार भरतपुर–२४ स्थित बिहानी सामूहिक कृषि फार्मको उद्घाटन गर्दै मेयर दाहालले इच्छाशक्तिसँगै जोश र जाँगर पनि चाहिने बताएकी हुन्। कुनै पनि जनप्रतिनिधिले पद पाउँदैमा विकास नहुने उनको भनाइ छ। चितवनले हाल ६ जना मन्त्री पाएको उदाहरण दिँदै मेयर दाहलले मन्त्री पाएअनुसारको विकास भएको छ कि छैन भनेर जनताले नै मूल्याङ्कन गरिदिनुपर्ने बताइन्।
जनप्रतिनिधिभन्दा पनि जनताले नै ठूलो योगदान दिन सफल भएको उनले बताइन्। २५ जना युवाहरुको सामूहिक लगानीमा फार्म सञ्चालनमा ल्याएको भन्दै यसबाट जनप्रतिनिधिले गर्ने विकासमा टेवा पुग्ने उनको भनाइ छ। युवाहरुको लगानीमा नयाँ व्यवसाय थालिँदा सम्बन्धित क्षेत्रमा देखिने विकासले जनप्रतिनिधिलाई जस दिने हुँदा जनप्रतिनिधिलाई सफल बनाउने जिम्मा पनि जनतामै भर पर्ने उनले बताइन्।
युवाहरुले हाल ६० विगाह जमिनमा सामूहिक तरकारी खेती गरिरहेका छन्। गोलगेडा, सिमी, सिम्ला, फर्सी तरकारी उत्पादन भइरहेको छ। विदेशमा कृषि कर्म गरी फर्केका युवाहरुको नेतृत्वमा खुलेको फार्मले दूध, कृषि उपज, तरकारी, खाद्यान्न, एकीकृत संकलन गरी बजारीकरण गर्ने लक्ष्य लिएको छ।




















