चितवन । युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउने सरकारी नीतिअनुसार चितवनमा ‘वृत्ति मार्ग निर्देशन तथा रोजगार मेला’ हुने भएको छ। यही असार २२ र २३ गते हुने मेला भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, चितवन चेम्बर अफ कमर्स, उद्योग वाणिज्य संघ चितवन, होटल व्यवसायी महासंघ नेपाललगायतका दर्जन संघ संस्थाको आयोजनामा हुन लागेको हो। भरतपुरमा रहेको चितवन प्रर्दशनी केन्द्र (चितवन एक्सपो सेन्टर)मा हुने मेलाले जिल्लामा न्युन स्तर र मध्यम स्तरको रोजगारी सिर्जना गर्न टेवा पुग्ने विश्वास लिइएको छ।
भरतपुर महानगरपालिकाका प्रमुख प्रसाशकीय अधिकृत रामवन्धु सुवेदीका अनुसार यस्तो मेला स्थानीय सरकारले गरेको छैन। जिल्लामा हुने विकास निर्माणको काममा आवश्यक कामदार अहिले पनि भारतबाट ल्याउनुपर्ने बाध्यता रहेकाले यसको अन्त्य गर्न रोजगार मेला गर्न लागिएको सुवेदीले जानकारी दिए। भरतपुर महानगरपालिका सभाहलमा भएको मेलाको तयारीबारे सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख प्रसाशकीय अधिकृत सुवेदीले निजी क्षेत्र र विज्ञसँगको छलफलपछि मेला आयोजना गर्न लागिएको प्रष्ट पारे।
चितवन पोल्ट्री, दूध, माछा, केरालगायतका कृषि उत्पादनमा आत्मनिर्भर छ। त्यस्तै होटल, विभिन्न उद्योगमा ठूलो संख्यामा कामदारको माग भएपनि भारत लगायत तेस्रो मुलुकबाट कामदार ल्याउनुपर्ने बाध्यता छ। मेलाले रोजगारदाता र रोजगारी गर्न इच्छुक व्यक्तिहरुको दुरी नजिक बनाउने उद्देश्यले मेला आयोजना गर्न लागिएको जनाइएको छ।
वैदेशिक रोजगारीमा जान चाहानेलाई सीपमूलक तालिम दिने, पालिकाहरुमा हुने विकास निर्माणमा जनशक्ति उत्पादन गरी मौसमी रोजगारी दिने तथा विभिन्न संघ संस्थामा आवश्यक पर्ने कामदारको मागलाई पूरा गर्न मेलाले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।
मेलामा रोजगारदाता र रोजगारी गर्न इच्छुकको तथ्याङ्क संकलन गर्ने, मेला अवधिभर २०० जनालाई आवश्यक संघ संस्थामा रोजगारी दिने, सीप र तालिमबारे जानकारी दिइने कार्यक्रमका फोकल पर्सन आमोद सुवेदीले जानकारी दिए। ६० वटा स्टल रहने मेलामा जिल्लाका ७ वटा पालिका, जब लिङ्क सेन्टर, उद्योग तथा तालिम केन्द्रहरुको स्टल रहने आयोजकले जनाएको छ।
मेलामा संकलन गरिएको तथ्याङकलाई अनलाइनबाटै जानकारी लिन मिल्ने गरी राखिने प्रमुख प्रसाशकीय अधिकृत सुवेदीले बताए। मेला अवलोकन गर्न कुनै शुल्क नलाग्ने आयोजकले जनाएको छ। दुई दिनसम्म चल्ने मेला १० हजार जनाले अवलोकन गर्ने अपेक्षा लिइएको छ।




















