चितवन । इच्छाकामना गाउँपालिकाको वडा नं. ४ स्थिति लामिडाँडा डाँडागाउँका १३ घर परिवारले आइतबार जग्गाधनी पुर्जा पाएका छन्। २०२६/०२७ सालताका नापजाँच भएर पनि पुर्जा नपाएका १३ परिवारले पाँच दशकपछि बल्ल पुर्जा पाएका हुन्। आइतबार इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरूङ र जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीको हातबाट उनीहरुले पुर्जा हात थापे।
साविकको दारेचोक गाविसअन्तर्गत ३ ञ ब्लक नं. ३३ को पुर्जा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष गुरूङले जानकारी दिए। ‘ज–जसको घरआगन छ, उनीहरूले पुर्जा पाएका हुन्,’ उनले भने, ‘उतिबेला पुर्जा दिन छुटेका १३ घर परिवारले आज जग्गा पुर्जा पाएका हुन्।’
इन्द्रबहादुर थापामगर, धनमाया लुङ्गेलीमगर, दिलबहादुर मगर, दलबहादुर थापामगर, रणबहादुर मगर, डम्बरबहादुर मगर, बुद्धसिंह थापामगर, ज्ञानबहादुर मगर, डिलबहादुर मगर, मानबहादुर लुङ्गेलीमगर, सौबहादुर मगर, चकबहादुर मगर र निर्मल थापामगरले आइतबार पुर्जा पाएका हुन्।


























