चितवन । बजारमा धानको लागि चाहिने युरिया मलको चरम अभाव भइरहेका बेला साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले केही मल उपलब्ध गराउने भएको छ। वर्तमान समयको लागि कर्पोरेशनलाई सरकारबाट अनुदानको (युरिया ८६२० बोरा र डिएपी ७८४० बोरा) १६ हजार ४६० बोरा रासायनिक मल आउने क्रममा रहेको कर्पोरेशनका नारायणगढ शाखा प्रमुख बुद्धिविनोद दाहालले जानकारी दिए।
कर्पोरेशनले आर्थिक वर्ष २०७८/०७९ को असार १५ गतेसम्ममा युरिया मल १५ हजार १६० बोरा, डिएपी ९ हजार ६०९ बोरा र पोटास चार हजार १२ बोरा बिक्री वितरण गरिसकिएको जनाएको छ। कर्पोरेशनले प्रतिबोरा युरिया मल प्रतिबोरा रू.८१५, डिएपी प्रतिबोरा रू. दुई हजार २६५, पोटास प्रतिबोरा रू. एक हजार ६६५ मा बिक्रेताहरूलाई उपलब्ध गराउँदै आएको कार्यालय प्रमुख दाहालले जानकारी दिए।
मल बिक्रेताहरूले तोकिएको कार्यक्षेत्रभित्र स्थानीय तहले तोकेकोे दर रेटमा बिक्री वितरण गर्न र कृषकहरूले आफूले मल खरिद गर्दा स्थानीय तहले तोकेको मूल्यमा मात्र खरिद गर्न पनि उनले अनुरोध गरे। जिल्लाको ७ वटा पालिकामध्ये भरतपुर महानगरपालिकामा ६८, इच्छाकामना गाउँपालिकामा ६, कालिका नगरपालिकामा १८, खैरहनी नगरपालिकामा २८, माडी नगरपालिकामा १३, राप्ती नगरपालिकामा २३, रत्ननगर नगरपालिकामा ४० वटा गरी १९५ बटा बिक्रेतामार्फत सम्बन्धित पालिकाले तोकेको वडाका कृषकहरूलाई बिक्री वितरण गरिने कार्यालयले जनाएको छ।
सरकारले कर्पोरेशनलाई देशमा आपूर्ति हुने मलको ३० प्रतिशत मात्रै जिम्मेवारी दिएको हुँदा कृषकले मागेअनुसारको मल उपलब्ध गराउन नसकिएको कार्यालय प्रमुख दाहालले बताए। तैपनि कर्पोरेशनले बाली लगाउने मुख्य समयमा मलको अभाव नहोस् भनेर समयमा नै मल ल्याएर बिक्री वितरण गर्ने प्रयास गरिएको उनले बताए।