चितवन । चितवन राष्ट्रिय निकुञ्जका १७ वटा गैँडा मारेपछि अदालतबाट १५ वर्ष कैद सजाय भोगेका बमबहादुर प्रजाले जेलबाट छुटेपछि थप चार वटा गैँडा मारेको अनुसन्धानबाट खुलेको छ। जेलबाट छुटेपछि उनी फेरि गैँडा सिकार र खाग तस्करीमा संलग्न रहेको अनुसन्धानका क्रममा खुलेको हो।
२०६० सालमा पक्राउ परेका प्रजा १५ वर्ष कारावासको सजायपछि २०७५ मा रिहा भएका थिए। त्यति बेला उनले १७ वटा गैँडा मारेको स्वीकारेका थिए। जेलबाट छुटेपछि पनि गैँडा मार्न सक्रिय प्रजालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गएकाे बिहीवार राति धादिङको मलेखुबाट पक्राउ गरेको छ।
सीआइबी प्रमुख उत्तम सुवेदीले प्रजालाई पक्राउ गरी चितवन राष्ट्रिय निकुञ्जको जिम्मा लगाइएको जानकारी दिए। विसं २०७७ कात्तिकमा चितवन राष्ट्रिय निकुञ्जको नारायणी नदीको टापुमा २०/२२ वर्षको माउ गैँडा र तीन वर्षको बच्चा मृत भेटिएको थियो। ती दुवै खाग झिकिएको अवस्थामा भेटिएका थिए।
त्यसपछि चितवन राष्ट्रिय निकुञ्जले चलाएको ‘स्वीप अप्रेशन’का क्रममा थप दुई गैँडा पनि खाग झिकिएको अवस्थामा मृत भेटिएका थिए। ती चार वटै गैँडाको सिकार प्रजाको योजनामा भएको अनुसन्धानबाट खुलेको बताइएको छ।




















