चितवन । रत्ननगरमा ट्रकको ठक्करबाट एक जना साइकल यात्रीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिबार बिहान करिब ५ बजेको समयमा रत्ननगर-९ गणेश चोकनजिकै टाँडीबाट भरतपुरतर्फ जाँदै गरेको ना ४ ख २७४८ नम्बरको ट्रकले साइकल यात्रीलाई ठक्कर दिँदा रत्ननगर-१० का ३७ वर्षीया उमेश दराईको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ।
दुर्घटनामा परी गम्भीर घाइते भएका दराईको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। ट्रक र ट्रक चालक मकवानपुर जिल्ला हेटौँडा उप-महानगरपालिका वडा नम्बर १४ का ४५ वर्षीया धावा थोकर चितवन प्रहरीको नियन्त्रणमा छ।
आफन्तको मृत्यु भएपछि स्थानीयले पूर्व-पश्चिम राजमार्गमा पर्ने उक्त सडक अवरोध गर्ने प्रयाससमेत गरेका थिए। तर इलाका प्रहरी कार्यालय टाँडी, खैरहनी, भण्डारा र जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी टोलीले अवरोध हुनबाट रोकेपछि यातायात सामान्य अवस्थामा सञ्चालन भइरहेको चितवनका प्रहरी प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए।


























