चितवन । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले कवि, निबन्धकार तथा आख्यानकार भूपिनको औपन्यासिक कृति ‘मैदारो’लाई पुरस्कृत गर्ने भएको छ। शुक्रबार राजधानीको प्रज्ञाप्रतिष्ठानमा हुने कार्यक्रममार्फत दुई हजार १०० डलर (करिब तीन लाख रुपैयाँ नेपाली) बराबरको पुरस्कार प्रदान गर्ने अनेसासले जनाएको छ। विगत दुई वर्षमा छापिएका साहित्यिक कृतिको छनौट गर्दा भूपिनको मैदारो सर्वाेत्कृष्ट छनौटमा परेको हो। २०७५ सालमा प्रकाशित उपन्यास मैदारोले एउटा चित्रकारको आँखाबाट हेरिएको सामाजिक कलंक छुवाछूत र जातीय विभेदको कथा बोल्ने प्रयास गरेको छ।
मैदारो उनको पाँचौँ कृति हो भने औपन्यासिक कृति पहिलो हो। यसअघि उनको ‘क्षतिग्रस्त पृथ्वी र मूल सडक’, ‘हजार वर्षको निद्रा’ र ‘सुप्लाको हवाइजहाज’ कविता संग्रह प्रकाशित छन् भने ‘चौबीस रिल’ निबन्ध संग्रह पनि यसअघि नै प्रकाशित भएको कृति हो। वि.सं. २०३० सालमा बाग्लुङको बलेवामा जन्मिएका भूपिन पेसाले शिक्षक हुन्। उनी चितवनको भरतपुरस्थित सप्तगण्डकी बहुमुखी क्याम्पसमा अध्यापन गर्छन्। उनी चितवनमा रहेर विभिन्न साहित्यिक संघसंस्थामा समेत आवद्ध छन्।


























