चितवन । पछिल्लो समय चितवनमा बाघको आक्रमणका घटना बढ्दै गएको छ। जसबाट मानवीय क्षति पनि बढ्दै गएको तथ्यांकले दखाउँछ। बिहीबार बिहानमात्रै मेघौलीस्थित भरतपुर–२७ की रेखा बस्नेतको बाघको आक्रमणबाट ज्यान गयो। पूर्व म्यादी प्रहरीसमेत रहेकी २३ वर्षीया बस्नेतको दिउँसो करिब १२ बजेमात्रै बाघले खाइरहेको अवस्थामा शव भेटियो। उक्त बाघलाई साँझ करिब साढे ६ बजेतिर मात्रै नियन्त्रणमा लिएको छ।
एक हप्ताअघि मात्रै भरतपुर–२३ को जगतपुरस्थित घैलाघारी मध्यवर्ती सामुदायिक वनमा गएकी मंगली बोटेको ज्यान गएको थियो। बाघको आक्रमणबाट मानिसको ज्यान जाने जोखिम दैनिक बढ्दै जाँदा वन्यजन्तु र मानवबीचको द्वन्द्व कम गराउन निकुञ्ज प्रशासन र सरोकारवाला निकायले ध्यान दिनुपर्ने देखिन्छ।
किनकि चितवनमा गत असारदेखि हालसम्ममा १६ जना मानिसले बाघको आक्रमणबाट ज्यान गुमाइसकेको तथ्यांक निकुञ्ज प्रशासनसँग छ। चितवन राष्ट्रिय निकुञ्ज पाटे बाघको मुख्य बासस्थान भएकोले पनि आक्रमणका घटना बढी भएको निकुञ्ज प्रशासन बताउँछ। ‘निकुञ्ज आसपासका मध्यवर्ती सामुदायिक वनमा पनि बाघको संख्या फैलिँदै गएको छ,’ निकुञ्ज प्रशासनका सूचना अधिकारी गणेशप्रसाद तिवारीले भने, ‘त्यसले मानवसँगको द्वन्द्व पनि बढाएको छ।’
पछिल्लो समय निकुञ्जभित्रभन्दा पनि सामुदायिक वनहरुमा बाघको गतिविधि बढेको देखिन्छ। घैलाघारी मध्यवर्ती सामुदायिक वन, कुमरोज मध्यवर्ती सामुदायिक वन, चतुर्मुखी सामुदायिक वन, पञ्चकन्या सामुदायिक वनलगायतका क्षेत्रमा बाघको आक्रमण निरन्तर हुन थालेको छ।


























