मकवानपुर । हेटौँडा उप-महानगरपालिकाका १९ वटै वडामा पुस्तकालय स्थापना गर्न आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरिने भएको छ। पुस्तकालय अभियान समूह मकवानपुरले अभियानको प्रथम वार्षिकोत्सवको अवसरमा आइतबार उप-महानगरपालिकाकै सभाहलमा आयोजना गरेको कार्यक्रममा सहभागी नगर प्रमुख मीनाकुमारी लामा, उप-प्रमुख राजेश बानियाँसहित वडा अध्यक्षहरुले पुस्तकालय स्थापनाका लागि बजेट विनियोजन गर्न सहमति जनाएका हुन्।
वडा अध्यक्षहरुले वडाको तर्फबाट पनि बजेट छुट्याउने जनाएको छ। पुस्तकालय अभियान समूहले पुस्तकालय स्थापनाका लागि सञ्चालित अभियानको विषयमा जानकारी गराउँदै नगरप्रमुख र उप-प्रमुखलाई अनुरोधपत्र समेत बुझाएको छ। पुस्तकालय अभियान समूहका सदस्य निमेष निखिल र प्रतिमा श्रेष्ठले नगर प्रमुख र उपप्रमुखलाई अनुरोधपत्र बुझाएका हुन्। पुस्तकालय अभियान समूहका सदस्य सुरेश श्रेष्ठले अभियानका बारेमा जानकारी गराएका थिए।
सचेत र जागरुक नागरिक समाज निर्माणका लागि पुस्तकालयको आवश्यकता महसुस गरी अभियान नै सञ्चालन गरिएको र अब स्थानीय सरकारले पुस्तकालय अभियानको विस्तार र विकासमा ध्यान दिनुपर्ने श्रेष्ठले बताए। स्थानीय सरकारले पुस्तकालय स्थापना, सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कानुन नै बनाएर कार्यान्वयन गर्नुपर्नेमा उनले सुझाव समेत दिएका छन्। अनुरोधपत्र बुझेपछि नगरप्रमुख मीनाकुमारी लामाले पुस्तकालय स्थापना र सञ्चालनका लागि नागरिकस्तरबाट आएको प्रस्ताव महत्त्वपूर्ण रहेको बताउँदै पुस्तकालय स्थापनाको योजनालाई आगामी आर्थिक वर्षको बजेटमा समावेश गरेर कार्यान्वयन गरिने बताइन्।
पुस्तकालय सञ्चालन र व्यवस्थापन गर्नु जटिल विषय भएको औँल्याउँदै नगरप्रमुख लामाले पुस्तकालय अभियान समूहसँगको सहकार्य र समन्वयमा नगरका सबै वडामा पुस्तकालय स्थापना गरिने प्रतिवद्धता व्यक्त गरिन्। नगर उपप्रमुख राजेश बानियाँले सभ्य समाज निर्माणका लागि पठन संस्कृतिको विकास गर्नुपर्ने उल्लेख गर्दै इतिहास जान्न पढ्नुको विकल्प नभएको र पढ्नका लागि पुस्तकालय आवश्यक भएको बताए। बानियाँले समाजमा अध्ययन संस्कृति नभएको स्वीकार गर्दै ‘धन भए ज्ञान चाहिँदैन’ भन्नेको बाहुल्य भएको समाजमा अब परिवर्तन जरुरी रहेको बताए।
वडा अध्यक्षहरुको तर्फबाट १ नम्बर वडा अध्यक्ष सवीन न्यौपानेले सकारात्मक सोँचको विकास गर्न पुस्तकालय आवश्यक भएको बताए। उनले हरेक वडाले पुस्तकालय स्थापना, सञ्चालन र व्यवस्थापनमा सहयोग गर्ने बताए। एक वर्षको अवधिमा पुस्तकालय अभियान समूह मकवानपुरले जिल्लामा १२ वटा तथा बारा र रौहतटमा एक/एक वटा गरी कुल १४ वटा पुस्तकालय स्थापना गरिसकेको छ।
आगामी दिनमा पनि पुस्तकालय स्थापना गरी पठन संस्कृतिको विकास गरिने पुस्तकालय अभियान समूहका सदस्य सुशीलराज गिरीले जानकारी दिए। पुस्तकालय अभियान समूहले २०७८ साल जेठ २९ गते पहिलो पुस्तकालय स्थापना गरेको एक वर्ष पूरा भएको दिन मकवानपुरको भीमफेदी गाउँपालिका र मनहरी गाउँपालिकामा अभियानअन्तर्गत नै स्थापित पुस्तकालयहरुले पनि स्थानीय सरकारसँग पुस्तकालय स्थापना, सञ्चालन र व्यवस्थापन सम्बन्धमा छलफल गरेको छ।


























