चितवन । यसवर्ष मनसुन चाँडै सक्रिय भइदिँदा बाढी-पहिराको जोखिम पनि चाँडै देखिएको छ। जेठ लागेयता परिरहेको पानीकै कारण देशकै ‘लाइफलाइन’ मानिएको नारायणगढ-मुग्लिन सडक पटकपटक अवरुद्ध हुने र खुल्ने क्रम चलिरहेको छ। बिहीबार राति परेको अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत पर्ने तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित पावरहाउस नजिक शुक्रबार बिहान सडक भासिएपछि राजमार्ग नै अवरुद्ध बन्यो। भासिएको ठाउँबाट शुक्रबार बिहान एउटा कार र एउटा मोटरसाइकल नै खोलामा खसेको थियो। यातायात सहज बनाउन अहिले भित्ता काट्ने काम भइरहेको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिए।
गोरखाको पालुङटारमा दुईवटा मोटरेबल पुल नै बगायो। पालुङटार नगरपालिका-९ विर्दीस्थित शेराबजार र सिस्नेरीबीचको चुतिखोलामा निर्माणाधीन पुल बाढीले पुरेको छ भने चुती खोलामाथिको मोटरेबल पुल बाढीले बगाएपछि आवतजावत ठप्प बनेको छ। गोरखाकै बाह्रकिलो-बारपाक सडकखण्डअन्तर्गत बिरालेझ्याङमा पहिरो खस्दा उक्त सडक पनि अवरुद्ध बनेको छ।
पालुङटार नगरपालिका-६ केउरेनीका केशरबहादुर थापाको ढुङ्गा र सिमेन्टले बनेको दुईकोठे घर घर पहिरोले बगाएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए। पहिरोले घर बगाएका केशरबहादुरका ६ जनाको परिवार पाल टाँगेर बसेका छन्। त्यस्तै केउरेनका वीरबहादुर राना र ज्योती रानाको घर पनि पहिरोको उच्च जोखिममा परेको प्रहरीले जनाएको छ।


























