चितवनको परिवेशमा एउटा स्थापित नाम हो ‘वे ग्रुप नेपाल’। अङ्ग्रेजी शब्दको वी आर युथको छोटकरी रूप हो यो। भोजनारायण कँडेलको नेतृत्वमा २०७३ जेठ २४ गते सोमबारबाट ‘हप्तामा एक दिन, एकछिन समाजका लागि’ भन्ने मूल नारा बोकेर सडकमा निस्किएको यो समूह निरन्तर सडक किनारमै दौडिएको आज ६ वर्ष पूरा भएको छ। विभिन्न मठमन्दिर, पाटी पौवा, नदी, खेलमैदानलगायतका अन्य सार्वजनिक क्षेत्रमा पनि नदौडिएको होइन, यो समूह।

विशेष गरी सडककै वरपर असरल्ल फोहोर छरिँदा टोलमात्र होइन, बजार नै कुरूप देखिँदो रहेछ। यही विषयलाई ध्यानमा राखेर भरतपुर–४, धर्मचोक–लङ्कू क्षेत्रबाट सुरू भएको यो अभियान अहिले भरतपुर बाहिर पनि सक्रिय हुन थालेको छ। सुरूवाती चरणमा विभिन्न खालका आरोह अवरोह पनि नझेलेको होइन। फोहोर संकलन गर्नको लागि आवश्यक पञ्जा, मास्क, कुचोलगायतका आधारभूत सामग्री किन्नसमेत समूहमा आवद्ध स्वतन्त्र व्यक्तिहरूबाटै आर्थिक संकलन गर्नुपर्ने अवस्था थियो।

भरतपुर–नारायणगढ क्षेत्रमा सोमबार साप्ताहिकरूपमै बन्द हुने भएकोले यो समूहले पनि हप्तामा एक दिन त्यो पनि सोमबार बिहान १ घण्टाको लागि सरसफाइ गर्न समय छुट्याएको थियो। समूहमा आवद्ध व्यक्तिहरू विभिन्न पेसा तथा व्यवसायमा रहेकाले पनि फुर्सदको दिन पारेर सरसफाइ गर्न थालिएको हो।
कार्यक्रम तोकेकै समयमा सुरू गरेर एक घण्टासम्म निरन्तर सरसफाइ गर्दै आएको यो समूहले सरसफाइ सुरू गर्नुपूर्व राष्ट्रिय गान गाएर उद्घाटन गर्दै आएको छ। समूहमा आवद्ध हुनका लागि कसैलाई छेकबार छैन। जसले समय व्यवस्थापन गर्न सक्छ, उसले अहिले पनि समूहमा आवद्ध हुन पाउने प्रावधान छ।

सुरूका दिनहरूमा वे ग्रुप भनेर समाजमा चिनाउनै सकस थियो। तर, अहिले सरसफाइको प्रसंग चल्दा वे ग्रेप भनेर नाम लिन सक्ने भएको छ। गएको ६ वर्षको प्रतिफल हो यो। समूहले आफैँ सरसफाइ गर्दै हिँड्ने मात्र नभई सामाजिकरूपमै जनचेतनासमेत जगाउँदै आएको छ।
सरसफाइ गर्दाभन्दा जनचेतना जगाउँदा विभिन्न खालका खप्की पनि सहनुपरेको थियो, जुन अहिलेसम्म पनि यथावत छ। आफ्नै घरको छेउको सडक पेटीमा वे ग्रुपको समूहले सरसफाइ गरिरहँदा घरको बार्दलीबाट रमिता हेर्ने जमात पनि उत्तिकै छ, जसले गर्दा सरसफाइबाटै समाज बदल्छौँ भनेर आएका कति अभियानहरू असफल भएर गए।

तर, सबै मान्छे त्यस्ता पनि हुँदैनन्, किनकि मानिस सामाजिक चेतनशील प्राणी भएकोले कतिपयले आफू सहभागी हुन नसके पनि सरसफाइ गर्दा आवश्यक आधारभूत सामग्री जुटाउनमा सहयोग गरिरहेका छन्। उनीहरूकै देनका कारण आज वे ग्रुपले ६ वर्ष पूरा गरी ७औँ वर्षमा पाइला टेकेको छ।
छैठौँ वसन्त पार गरेर यात्रा अगाडि बढाइरहँदा स्थानीय तहको नजरमा पनि यो समूह परिसकेको छ। विशेष गरेर भरतपुर महानगरपालिकाभित्र यो समूहको बढी चहलपहल हुने भएकोले पनि होला, भरतपुर महानगरपालिकाले गर्ने गतिविधिमा पनि यो समूहलाई सहभागी गराउँदै आएको छ।

समूहले आफूले मात्रै काम गर्ने नभई समाज बदल्ने अभियान पनि सँगै लिएर हिँडेको हुँदा समाज केही न केही परिवर्तन भएको महसुस सबैले गरेकै छन्। घरबाट निस्कने फोहोरको प्रकृति छुट्याएर कुहिने र नकुहिने फोहोर छुट्याए व्यवस्थापन गर्न सजिलो हुने उपायदेखि जथाभावी फोहोर फाल्ने व्यक्तिको खोजी गरी स्थानीय तहमार्फत जरिवाना गराउनसमेत सफल भएको छ, वे ग्रुप।

यसरी विभिन्न खालका संकट र व्यवधानबाट गुज्रिँदै आएको स्वतन्त्र युवाहरूको समूहमा अहिले सबै उमेर समूहका व्यक्तिहरूले साथ दिएका छन्। र, त अभियानले निरन्तरता पाइरहेको छ। सही र सत्य काम गर्दा कोही कसैबाट विरोधको आवाज घन्काउने प्रयास गरे पनि असफल हुन्छ, यानिकि सत्यकै जीत हुन्छ भन्ने उदाहरण पनि वे ग्रुपले पस्किदिएको छ।
समाजमा यसरी नै उदाहरणीय बन्दै जाओस्, अन्य व्यक्ति तथा संघसंस्थाले पनि वे ग्रुपबाटै पाठ सिकोस्। र, समाज परिवर्तनमा भूमिका खेलोस्, स्थापनाको सातौँ वर्ष प्रवेश गरेको उपलक्षमा हार्दिक बधाई तथा शुभकामना।



























