काठमाडौं । आइतबार पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको ट्वीनअटर जहाजमा सवार सबै यात्रुको मृत्यु भएको छ। घटनास्थलमा पुगेका सामाजिक अभियन्ता एवं होटल व्यवसायी इन्दुसिंह शेरचनले ‘कोही पनि जीवित अवस्थामा नभेटिएको’ पुष्टि गरेका छन्। नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले अहिले शव संकलन गरिरहेको उनले बताए।
विमान चालकको फोन लोकसेन र विमानको जिपीएसको आधारमा त्यसक्षेत्रमा दुर्घटनाग्रस्त विमानको खोजी भइरहेको थियो। तर आइतबार दिनभर फेला नपरेपछि मौसम प्रतिकूल र रात परेका कारण खोजी सम्भव नभएको भन्दै नेपाली सेनाको खोजी तथा उद्धार टोली जोमसोम फर्किएको थियो।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार स्थानीय यार्सागुम्बा संकलकमार्फत गत कात्तिक २८ मा ठूलो हिमपहिरो गएको मानापाथी हिमालको फेदीमा पर्ने सानोस्वरे भन्ने ठाउँमा दुर्घटनाग्रस्त जहाजको तस्बिर प्राप्त भएको थियो। स्थानीयले आइतबार नै दुर्घटना भएको स्थानबारे स्थानीयले जानकारी गराएका थिए। तर मौसमको कारण देखाउँदै खोजी तथा उद्धारमा खटिएको टोली त्यहाँ नपुग्दै फर्किएको थियो।
आइतबार बिहान ९ बजेर ५५ मिनेट जाँदा पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको थियो। नाइन एन–एइटी कलसाइनको जहाजमा २ विदेशी, ४ भारतीय र १३ नेपाली गरी २२ यात्रु सवार थिए। चलक दलका क्याप्टेन प्रभाकरप्रसाद घिमिरेले उडाएको जहाजमा को पाइलट उत्सव पोख्रेल र विमान परिचारिका किस्मी थापासमेत थिइन्।
जहाजमा धनुषाको मिथिला नगरपालिका–११ लोटा गाउँका सात जना रहेको पुष्टि भएको छ। राजनकुमार गोले, उनका बुबा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङ रहेको परिवारजनले पुष्टि गरेको छ। गोले परिवार मुक्तिनाथ दर्शनका लागि विमानबाट जोमसोम जाँदै थिए।

























