काठमाडौं । आइतबार बिहानदेखि हराइरहेको तारा एअरको ट्वीनअटर जहाज मुस्ताङको थसाङमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ। नेपाली सेनाका प्रवक्ता सहायक रथि नारायण सिलवालका अनुसारले सामाजिक सञ्जाल ट्विटरमार्फत मुस्ताङको थसाङ-२ सानोस्वारे क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको जनाकारी गराएका छन्। घटनाको थप विवरण भने अझै आउन बाँकी छ। खराब मौसम र अँध्यारोका कारण रातभर रोकिएको खोजी काम आज (सोमबार) बिहान ५ बजेदेखि नै सुरु भएको थियो।
आइतबार बिहान ९ बजेर ५५ मिनेट जाँदा पोखराबाट जोमसोमका लागि उडेको जहाज सम्पर्कविहीन भएलगत्तै खोजी सुरु भएको थियो। हराइरहेको जहाज अन्तिम पटक जोमसोम टावरसँग हिजो बिहान १० बजेर ७ मिनेटमा घोडेपानी भन्ने ठाउँमा सम्पर्कमा आएको र त्यसपछि सम्पर्कविहीन भएको थियो। हराइरहेको जहाजमा चालक दलका तीन सदस्य, दुई जर्मन नागरिक, चार भारतीय नागरिक र १३ जना नेपाली गरी जम्मा २२ जना रहेका तारा एअरलाइन्सले जनाएको छ।


























